मुकुन र मेनुकाको ‘गणपति’ छायांकन सुरु



काठमाडौँ। अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहेको चलचित्र ‘गणपति’ को छायांकन सुरु भएको छ । बिहीवार तनहुँ बन्दीपुर गाउँपालिका थारुबासबाट चलचित्रको छायांकन सुरु भएको हो । चलचित्रको छायांकनका लागि निर्माण टिम बुधवार राजधानीबाट त्यसतर्फ प्रस्थान गरेको छ । गाउँले परिवेशमा खिचिने चलचित्रको आधिकांश छायांकन तनहुँ बन्दीपुरमा नै हुनेछ ।

चलचित्रलाई सविन अधिकारीले निर्देशन गरिरहेका छन् । उनकै कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी निर्मातामा छन् । चलचित्रमा मुकुन र मेनुकाका अलावा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, शुशील पोखरेल, श्रीदेव वि.एल लगायतको अभिनय रहनेछ ।

भगवान र मानिसबीचको फरक देखाइने चलचित्रमा हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी र मौसम बस्नेतको ड्रेस रहनेछ । चलचित्रमा शंकर धिताल एशोसिएट डाइरेक्टर, सन्तोष पौडेल मुख्य सहायक निर्देशक, कुमोद शर्मा सहायक निर्देशक, सुवास मगर फोटोग्राफर, बेदनाथ धमला, किरण मगर प्रोडक्सन र उत्तम अर्याल मुख्य सहायक छायाँकारको रुपमा छन् ।

चलचित्रको गीतमा अनिस अधिकारीले शब्द तथा संगीत भरेका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आवाज दिएका छन् । त्यस्तै, गोविन्द शाहीले देशभर वितरण अधिकार दिएको फिल्मको ओभरसिज राइट्स स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ । निर्देशक अधिकारीले ‘गणपति’ नाम धार्मिक सुनिए पनि चलचित्रमा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिने जानकारी दिएका छन् ।