विकास बोर्डले सार्बजनिक गर्यो फिल्म लोकेशन गाईड, मन्त्री बाँस्कोटाद्वारा लोकार्पण


सेलिब्रेटी नेपाल

काठमाडौँ:सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र विकास बोर्डद्वारा प्रकाशित ‘फिल्मिङ इन नेपाल, द अल्टिमेट ट्राभल गाईड टु फिल्मस् साईटस्– भोलुम १’ को शुक्रबार चलचित्र विकास बोर्डको हलमा बिमोचन गरे । मन्त्री बाँस्कोटाको रोहबरमा सोही कार्यक्रममा चलचित्र विकास बोर्ड र ब्रिटिश काउन्सिल बीच चलचित्र संग्रहालय तथा अन्य सहकार्यका लागि समझदारी पत्र (एम.ओ.यु.)मा हस्ताक्षर भयो ।

मन्त्री बाँस्कोटाले सो कार्यक्रमलाई सम्बोधन गर्दै इन्डोर सुटिङ स्टुडियोको लागि आफूहरुले काभ्रेमा जग्गा खोजेको जानकारी गराए । उनले नेपाल आफैं फिल्म छायाङ्कनको लागि प्राकृतिक स्टुडियो भएको जिकिर गरे । मन्त्री बासकोटाले यो पुस्तकले नेपालको सुन्दर बारे देश विदेशमा जानकारी गराउने विश्वास लिएको छु भने । विदेशीहरुलाई नेपालको सुन्दरता र यहाँ छायाङ्कन गर्ने सुविधा बारे जानकारी गराउन हरेक देशमा भएका नेपाली कुटनीतिक नियोग मार्फत् यो पुस्तक ती देशका सिनेकर्मीको हातमा पुर्याउन पनि उनले चलचित्र विकाश बोर्डले निर्देशन दिए । पुस्तकमा भएका तस्बिर र सूचनाहरु वेवसाईट बनाएर राख्न पनि उनले सुझाव दिए ।

चलचित्र ऐन अहिले मन्त्रालयबाट क्याविनेटमा आफूले पठाएको जानकारी गराउँदै अब यो कानून मन्त्रालयमा जाने र त्यसपछि संसद हुँदै चाँडै पारित भएर आउने पनि मन्त्री बाँस्कोटाले बताए । बालाजुको एनएफडिसीको जग्गा फिर्ता लिन आफुहरुको कानूनी पहल गर्ने उनले चेतावनी दिए । चलचित्र विकास बोर्ड र ब्रिटिश काउन्सिलबीच भएको यो हस्ताक्षरले नेपाली चलचित्र उधोगलाई धेरै फाईदा पुग्ने विश्वास आफूले लिएको मन्त्री बाँस्कोटाले बताए ।

भिडियो बुकको लागि नेपालका सुन्दरस्थलको छायाङ्कन गर्न केही कम्पनीसँग सम्झौताको कानूनी प्रक्रिया सुरु भईसकेको उनले बताए । चलचित्र विकास बोर्डका सदस्य सचिव महेन्द्रप्रसाद साँखीको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य तथा लोकेशन गाईड प्रकाशन समितिका संयोजक दयाराम दाहालले फिल्म लोकेशन गाईड पुस्तक बारे जानकारी गराए । करिब २२० पृष्ठको यो पुस्तक आफूहरुले निकै छोटो समयमा तयार धेरै भन्दा धेरै कुरालाई यसमा समेट्ने कोशिश गरेको उनले बताए । यो पुस्तकको अरु श्रृंखलाहरु पनि क्रमशः प्रकाशन गर्दै जाने पनि बोर्ड सदस्य दाहालले जानकारी गराए । यो पुस्तकले नेपालको कुन ठाउँमा कस्ता दृश्य र सेवा छन्, त्यहाँ गएर कसरी छायाङ्कन गर्ने भन्ने सबै जानकारी दिने पनि दाहालले कार्यक्रममा प्रकाश पारे ।