हल संचालन गर्ने कुरा डिर्पाटमेन्टल स्टोर खोलेजस्तो होइन:डा.गिरि



दाङ । कोरोना महामारीकै बिचमा चलचित्र क्षेत्रलाई गतिशिल बनाउन चलचित्र क्षेत्रसंग सम्बद्ध सबै पक्ष मिलेर जानुको विकल्प नभएको चलचित्र क्षेत्रका सरोकारवालाले बताएका छन् । चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार घोराहीमा आयोजना गरेको चलचित्र बहस विषयक अन्तरक्रियात्मक कार्यक्रममा सरोकारवालाले कोरोना कहरका कारण दर्शक हलसम्म पुग्ने सक्ने अवस्था अझै बनि नसकेको भन्दै कम्तिमा हप्तादिनमा मात्रै सिनेमा रिलिज हुनुपर्ने निष्कर्ष निकालेका हुन् ।

कोरोना महामारीका कारण बन्द भएका चलचित्र हल विस्तारै खुल्ने क्रम शुरु भएपनि अझै पनि दर्शकहरु हलसम्म पुग्न नसकेको बताउँदै सरोकारवालाले चलचित्र क्षेत्रलाई गतिशिल बनाउन चलचित्र उद्योगी र राज्य दुवै गम्भिर बन्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा चलचित्र हल संचालक ललित श्रेष्ठले कोरोना महामारीका कारण हल लामो समय बन्द हुँदा श्रमिकलाई पारिश्रमिक दिन समस्या परेको बताउनुभयो । उहाँले अहिले हल संचालनका लागि आफु तयार भएपनि राम्रा चलचित्र पनि पाउन नसकेको बताउनुभयो । राम्रा चलचित्र पाए सुरक्षाका मापदण्ड अपनाउँदै हल संचालन गर्न सकिने उनको भनाई छ ।

कार्यक्रममा चलचित्र निर्माता संघका केन्द्रीय सदस्य रोहित अधिकारीले कोरोना कहरकै बिचमा चलचित्र रिलिज गर्न निर्माताहरु डराइरहेको बताउनुभयो । कारोनाका कारण दर्शक नपाउने अवस्था रहेको भन्दै दर्शकलाई हलसम्म ल्याउने वातावरण निर्माण गर्नुपर्ने बताए ।

चलचित्र हल संचालनका लागि राज्य पनि गम्भिर नभएको भन्दै उनले अहिलेको अवस्थामा राज्यले चलचित्र उद्योगीहरुलाई अनुदानको व्यवस्था गरिदिनुपर्नेमा जोड दिए ।

अहिले हल खुलेको जस्तो देखिएपनि पूर्णरुपले सबैतिर हल संचालनमा आउन नसकेको भन्दै पूर्णरुपले हल संचालनका लागि हल संचालक व्यवसायी तयार हुनुपर्ने बताए ।

कार्यक्रममा चलचित्र निर्माता तथा निर्देशक मुनाल घिमिरेले कोरोना महामारी बन्द भएका हल संचालनमा चलचित्र विकास बोर्डको भूमिका कमजोर देखिएको बताउनुभयो । उहाँले कोरोनाकै बिचमा चलचित्र निर्माताहरु चलचित्र दिन तयार रहेको बताउँदै राज्यले हल संचालनका लागि उचित व्यवस्थापन गर्नुपर्ने बताए ।
उनले चलचित्र निर्माण गरिसकेपछि कम्तिमा पनि लगानी फर्किनुपर्ने बताए । कोरोना महामारीका कारण चलचित्र उद्योग धरासयी बन्दै गएकोले राज्यले चलचित्र निर्माणमा अनुदान दिनुपर्ने बताए ।

चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष डा. अमर गिरीले हल संचालन गर्ने कुरा डिर्पाटमेन्टल स्टोर खोलेजस्तो नभएको बताउनुभयो । उहाँले दर्शकलाई कोरोनाको डर कायमै रहेको हुँदा हलमा दर्शकले सुरक्षाको अनुभूति दिलाउनका लागि हल संचालकले ध्यान दिनुपर्ने बताए । उनले चलचित्र विकास बोर्डले हल संचालनका लागि आवश्यक सुरक्षा सामाग्रि पहल गर्ने बताए ।

चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष शिब पुनको अध्यक्षता तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष डा. अमर गिरीको प्रमुख अतिथि र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल दाङका सल्लाहकार शरद रेग्मी, डा.लोकराज पराजुली , हाँस्य कलाकार कमल गाउँले र पत्रकार सर्मिला डि.सी.ले कोरोना जोखिमकै बिचमा सबै क्षेत्र चलायमान भइसकेको अवस्थामा चलचित्र क्षेत्रलाई गतिशिल दिनुको विकल्प नभएको बताए ।

उपाध्यक्ष सन्तोष केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ दाङ शाखाका निवर्तमान अध्यक्ष धुव्रराज न्यौपाने र सचिव पूर्ण केसीले गरेका थिए।