दिलिप र रमितको नेतृत्वमा शिविरमा राहत



काठमाडौँ। पूर्वी मोरङ्ग जिल्लाको पथ्री-शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरमा ‘इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ को अग्रसरतामा राहत वितरण सम्पन्न भएको छ। नेपालबाट नै अमेरिका पुगेका भुटानी शरणार्थीको टिमले चलाएको फाउन्डेसन हो, इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ । विभिन्न समयमा नेपालमा रहेका करिव ८ हजार भुटानी शरणार्थीलाई यो फाउन्डेसनले राहत वितरण गर्दै आएको छ।

डिल्ली अधिकारीको नेतृत्वमा रहेको फाउन्डेसनले यो पटक शिविरमा मास्क र सेनिटाइजर वितरण गर्न फाउन्डेसनका नेपाल कार्यकारी निर्देशक अभिनेता दिलिप रायमाझी, फाउन्डेसनका प्रबन्ध निर्देशक रुद्र बानिया लगायतको टिम अघिल्लो साता शिवरमा पुगेका थिए । सोहि बेलामा शिविरमा खाद्यान्नको अभाव पनि महसुस गरेपछि फाउन्डेसनको टिम पुन राहत लिएर शिविर पुगेको हो । फाउन्डेसनका गुडविल एम्वासेडर रमित ढुंगाना, दिलिप रायामाझी, रुद्र बानिया लगायतको टिमले १७०० घर धुरीलाई खाद्यान्न वितरण गरेको हो। प्रतिव्यक्ति १० केजी चामल, १ किलो नुन, १ लिटर तेल र १ किलो दालको दरले खाद्यान्न वितरण गरिएको हो। अघिल्लो बर्ष पनि यो फाउन्डेसनले करिव १ करोड २४ लाख नगद सहित खाद्यान्न वितरण गरेको थियो। सो राहत वितरणका लागी पनि अभिनेता दिलिप रायमाझी शिविरमा पुगेका थिए।

फाउन्डेसनले शिविरमा रहेका ८० बर्ष काटेका वृद्धवृद्धालाई वृद्धभत्ता र शारीरिक रुपमा अशक्त रहेका शिविरका व्यक्तिहरुलाई अशक्त भत्ता मासिक रुपमा प्रदान गर्ने निर्णय समेत गरेको छ। मासिक कति रकम दिने भन्ने निर्णय चाडै फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी र उहाको टिमले निर्णय गर्ने तयारी गरेको छ ।

राहत वितरण संगै शिविर प्रतिनिधिहरुले भुटानी शरणार्थीलाई अव नेपाली नागरिकताको माग पनि गरेका छन् । आफुहरु नेपालीको नै सन्तान भएको र लामो समयबाट नेपालमै रहेको र आफुहरु नेपाली नै भएको भन्दै नेपाली नागरिताको माग सहितको ज्ञापन पत्र अभिनेता रमित ढुंगाना मार्फत नेपाल सरकारलाई बुझाउने भएका छ्न ।

अभिनेता ढुंगानाले भुटानी शरणार्थीहरु नेपाली नै भएको र उनीहरुलाई नेपाली नागरिकता प्रदान गर्न सम्बन्धित निकायमा आफुले आवाज उठाउने बताएका छन्। सोहि कार्यक्रममा बोल्दै अभिनेता दिलिप रायमाझीले भुटानी शरणर्थीहरु नेपाली नै भएको र पुर्नवास नभएकाहरुले नेपाली नागरिकता पाउनु पर्नेमा जोड दिएका छन्।

फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी निरन्तर समाजसेवामा रहेका छन्। नेपाल हुदै अमेरिका सम्म पनि उनि निरन्तर समाजसेवाको काममा खटिरहेका छन्। अमेरिकामा अशक्त र वृद्धवृद्धाका लागि डे केयर र होम केयर सेन्टर आफ्नै नेतृत्वमा संचालन गर्दै आएका छन्। नेपाली कला, साहित्य र भाषा संकृतिको जगेर्नाका लागी पनि अधिकारी निरन्तर खटिरहेका छन्।