नेपाली फिल्मका अभिनेता दिपक ढकाललाई कोरोना संक्रमण


काठमाडौं । नेपाली फिल्मका अभिनेता दिपक ढकाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी भेरी अस्पताल नेपालगञ्जमा कोरोना प्रयोगशालामा ल्याब टेक्निसियनको रुपमा कार्यरत थिए ।

कोरोना नियन्त्रणको अग्रमोर्चामा रहेर काम गर्दै आएका दिपकले आफूमा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब दिएका थिए । उनलाई सोमबार कोरोना पुष्टि भएको हो ।

१० हजार व्यक्तिको स्वाब संकलनपछि आफूमा कोरोना पुष्टि भएको दिपकले सेलिब्रेटी नेपाललाई बताए । ‘निरन्तर स्वाब संकलनमा खटिएको थिए । केही दिनअघि ज्वरो आउने, शरिर गल्ने, टाउको दुख्ने, हातखुट्टा चस्किने लगायतका लक्षण देखिएपछि स्वाव दिएको थिए’ उनले भने –‘रिपोर्ट हिजो पोजेटिभ देखियो । अहिले होम आईसोलेसनमा बसिरहेको छु ।’ अहिले स्वास्थ्यमा समस्या नरहेको र आफू छिट्टै निको हुने उनको विश्वास छ ।

दिपकले केही नेपाली फिल्म तथा म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनी अभिनित ‘सुब्बा साब’, ‘लेक साइड’, ‘रेनी’ लगायतका चलचित्र प्रदर्शनमा आईसकेका छन् । ‘बग्ने खोला’ उनी अभिनित चर्चित गीत हो ।