बैशाख १८ गतेसम्म चलचित्र घर बन्द गर्ने निर्णय

सेलिब्रेटी नेपाल

काठमाडौँ: गत वर्ष चीनको वुहानबाट निस्किएको भनिएको कोरोना भाइरस अहिले विश्वकै समस्या बनेको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको रुपमा घोषणा गरेपछि झनै यसको त्रास बढ्दो छ । यसको असर मनोरंजन क्षेत्रमा पनि उत्तिकै परेको छ । यसै सन्दर्भमा नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रति सतर्कता अपनाउदै सिनेमा हल, सांस्कृतिक केन्द्रहरु लगाएतका क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ । कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो नियन्त्रण गरेको हो ।

बैठकले सिनेमाहल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल आदिलाई बैशाख १८ गते सम्म बन्द गर्ने निर्णय गरेको हो । यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने बताइएको छ । बैठकले रोगबाट संक्रमण भई उपचार गर्नुपर्ने भएमा त्यस्ता बिरामीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुबाट उपचार गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ । यस्तै गरि २०५८ सालमा राजा बिरेन्द्रको हत्या हुँदा सरकारले निर्णय गरेर २२ दिन चलचित्र घर बन्द गराएको थियो ।