‘बादशाह जुट’ र मुस्लिम समुदाय बीचको विवाद टुंगियो


सेलिब्रेटी नेपाल

काठमाडौँ: कार्तिक १५ बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बादशाह जुट’ को विवाद टुंगिएको छ । चलचित्रको ट्रेलरमा राखिएका केहि दृश्यले मुस्लिम समुदायमा आँच पुर्याएको भन्दै नेपाल मुस्लिम संघ, गण्डकी प्रदेश कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति जारी गरेको थियो ।

संघका गण्डकी प्रदेशका सभापति शाह मोहम्मद मियाँले जारी गरेको उक्त विज्ञप्तिमा चलचित्रको ट्रेलरलाई सामाजिक संजालबाट हटाउन निर्देशन दिइएको थियो । संघको विज्ञप्ति जारी भएको दुई दिन पछि आपसी छलफलमा विवाद टुंगिएको छ ।

सोमबार ‘बादशाह जुट’ निर्माण कम्पनि एच एण्ड बी फिल्मस् प्रालिले जारी गरेको विज्ञप्तिमा संघका अध्यक्ष समिम मियाँ अन्सारीसँगको छलफलमा आवश्यक दृश्य सच्याउने सहमति भएको बताइएको छ । साथै, निर्माण पक्षले सुमदायको चित्त दुखाईप्रति पनि माफी मागेको छ ।

जोनी सिंह रानाले निर्देशन गरेको चलचित्रले आफुलाई बादशाह मान्ने दुई युवकको कथा पेस गर्छ । चलचित्रमा सुशील श्रेष्ठ, आमिर गौतम, रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ ।

अभिषेक शशी कुमारको लेखनमा निर्मित चलचित्रमा राजु कार्कीको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ । एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रमा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेका छन् ।