माओत्सेको चलचित्र ‘पेन्सन पट्टा’को दोश्रो गीत सार्वजनिक

सार्वजनिक गरिएको गीतले ‘पेन्सन पट्टा’मा रहेको प्रेम र सम्बन्धको पक्षलाई संकेत गर्छ


काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘पेन्सन पट्टा’ को दोस्रो गीत ‘ऐना हेरेर, कपाल कोरेर’ सार्वजनिक गरिएको छ । प्रेम र मायाको भावनालाई केन्द्रमा राखिएको गीत आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

सुरज तमुको शब्द तथा संगीत रहेको गीतमा सुरजसँगै शान्ति श्री परियारको स्वर रहेको छ भने मनोज थापा मगरले संगीत संयोजन गरेका छन् । मौलिक स्वादको गीतमा प्रेमलाई सम्झनलायक र भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा अभिनेता मनोज गुरुङ र अनुशा राईको अभिनय देख्न सकिन्छ । फिल्मको कथावस्तुसँग जोडिने गरी सार्वजनिक गरिएको गीतले ‘पेन्सन पट्टा’मा रहेको प्रेम र सम्बन्धको पक्षलाई समेत संकेत गर्छ । बाहिरबाट लाहुरे जीवन पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडिए पनि त्यसको भित्री जीवनमा रहेका पारिवारिक सम्बन्ध, प्रेम, त्याग, विछोड र भावनात्मक संघर्ष फिल्मको कथाको महत्वपूर्ण हिस्सा रहेको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा दयाहाङ राई,गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुशा राईलगायत कलाकारको अभिनय छ । फिल्मलाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन् । मीन कोन्मे गुरुङ (सिकलेस), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङ निर्माता रहेको फिल्ममा डिबी गुरुङ प्रोडक्सन म्यानेजर छन् । सुशन प्रजापतिले छायांकन तथा सुरज तमुले कास्टिङ निर्देशन गरेका छन् ।

चलचित्रको गीतमा संगीत मनोज थापा मगर, शिव बराइली र सुरज तमुले तयार पारेका छन् । निमेश श्रेष्ठ र केर डी कोइन्च लिनुचले संयुक्त रूपमा सम्पादन गरेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । सुरज तमु र केर डी कोइन्च लिनुच सह–लेखक रहेको चलचित्रमा राजेन्द्र मोक्तान कलरिस्ट तथा राजु याकचा कला निर्देशकका रूपमा रहेका छन् । माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) प्रमाणीकरण पाएको छ । प्रमाणीकरणसँगै फिल्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने भएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.