‘अनन्त’ मा बाँधियो कर्मा र लक्ष्मीको जोडी



काठमाडौं अभिनेता कर्मा र लक्ष्मी बर्देवाको जोडी पहिलो पल्ट पर्दामा एक साथ देखिने भएको छ । थिएटरको पृष्ठभूमिबाट आएको दुवैले ‘अनन्त’मा एकसाथ काम गर्न लागेका हुन् । शनिबार बाट नै यो चलचित्रको छायाँकन सुरु भएको छ ।

एक अर्काको प्रशंसक बताउने कार्म र लक्ष्मी दुवैले फिल्मको कथासँगै एकसाथ चलचित्र गर्ने रहरले आएको प्रस्ताव स्वीकारेको बताए । कर्माले भने, ‘म लक्ष्मीको थिएटरको समयदेखिकै प्रशंसक हुँ तर पछिल्लो समय उहाँले म्युजिक भिडियो र चलचित्रमा पनि उत्तिकै राम्रो काम गरिरहनु भएको छ । यो चलचित्रमा सँगै काम गर्ने कुराले साँच्चिकै उत्साहित छु ।’उता लक्ष्मीले पनि कर्मासँग काम गर्ने कुरा आफ्नो लागि बोनस भएको बताइन् ।

‘यो लकडाउनको समयमा मैले कम्तीमा दसवटा जति स्क्रिप्ट पढेँ । कति पैसामा कुरा नमिलेर गरिन, कति भूमिका । यसको कथा र टिम मन परेर गर्ने निर्णय गरेकी थिएँ । यही फिल्ममा कार्मसँग काम गर्न पाउँदा बोनस पाएको अनुभव गरेकी छु,’ उनले भनिन्, ‘ किनकि उहाँसँग काम गर्ने मेरो ठूलो रहर थियो ।’
टाइम ट्राभल लभस्टोरी विधाको यो फिल्मलाई जेसन लोप्चनले निर्देशन गर्न लागेका हुन् । अस्कर फिल्म कलेजबाट ग्रयाजुएसन गरेका उनले केही लघु फिल्मको निर्देशन गरेका छन् । उनले चलचित्रले आफ्नो प्रेमका लागि हदसम्म जाने चरित्रको कथा पेस गर्ने बताए ।

२० दिनमा सुटिङ सक्ने लक्ष्य लिएर फ्लोरमा गएको चलचित्रको पटकथा जेसनले नै लेखेका हुन् । चलचित्रलाई बबिन दुलालले खिचेका हुन् । चलचित्रलाई नवविजय श्रेष्ठले निर्माण गर्न लागेका हुन् । उनलाई निर्माणमा सह निर्माताको रुपमा रन्जन ढुंगाना र शीतल खड्काले सघाउनेछन् भने तेजबहादुर श्रेष्ठ र दीपेश राउत सहायक निर्माताको रुपमा रहनेछन् । रेमन मल्ल र सल्लेन सुवाल लाइन प्रोड्युसरको भूमिकामा रहेका छन् । जीवन अधिकारीको समेत अभिनय रहने चलचित्रलाई काठमाडौंमा करण श्रेष्ठ र जीजीए ग्रुप मिलेर वितरण गर्नेछन् । फिल्म किपालय प्रडक्सनको ब्यानरमा बन्न लागेको हो ।