को बन्छ करोडपति बिजेता राजीब जैनलाई १ करोड हस्तान्तरण


सेलिब्रेटी नेपाल

काठमाडौँ:नेपालको लोकप्रिय टेलिभिजन रियालिटी शो ‘को बन्छ करोडपति’ का विजेता राजीब जैनलाई १ करोड हस्तान्तरण गरिएको छ । बिहिबार जैनलाई एसआरविएन मिडियाका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार आचार्य, कार्यक्रम प्रस्तोता अभिनेता राजेश हमाल, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ, क्रियटिम निर्देशक सुरक्षा अधिकारी लगायतले १ करोडको चेक हस्तान्तरण गरे ।

एपीवान टेलिभिजनबाट प्रशारण भएको उक्त कार्यक्रममा १ करोड जितेपछि सुरुमा राजीब जैनले उक्त रकमले केहि समाजसेवा तथा विश्व भ्रमणमा खर्चिने बताएका थिए । यद्यपी, रकम बुझेपछि उनले नेपालका धेरै स्थान घुम्न बाँकी रहेकाले मन बदलिएको बताए । भने, ‘नेपाल घुमेपछि मात्रै बाहिरी मुलुक जाने योजना गराएको छु, केहि रकम समाजसेवामा पनि खर्चिनेछु ।’ केबिसीको पहिलो संस्करणमा विजेता बनेको झण्डै तीन महिनापछि उनले १ करोड पाएका हुन् ।

शो अवसरमा एसआरविएन मिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विपीन कुमार आचार्यले ‘को बन्छ करोडपती’ लाई दर्शकले मन पराएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘हाम्रो पहिलो प्रयासलाई दर्शकले सहर्ष स्विकार्नुमात्रै भएन धेरै माया दिनुभयो, हामी अब दोस्रो सिजनलाई यो भन्दा धेरै राम्रो गराउने प्रेरणा मिलेको छ ।’ सिइओ आचार्यले कार्यक्रम सफल गराउन महत्वपुर्ण भुमिका निर्वाह गरेकोमा सम्पुर्ण सहयोगीहरुप्रति आभार व्यक्त गर्दै सिजन २ भन्दा अघि कुनै कार्यक्रम ल्याउन सक्ने संकेत समेत गरे । भने, ‘हामीले त्यसको केहि तयारी गरिरहेका छौं, केहि हप्तामै पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराउनेछौं । तर, केहि न केहि ल्याउने योजना गराएका छौं ।’

उक्त अवसरमा महानायक तथा कार्यक्रम प्रस्तोता राजेश हमालले पहिलो सिजन आफुहरुको अपेक्षा भन्दा धेरै सफल भएकोमा खुसी लागेको बताए । उनले आगामी शो थप भव्य गराउनका लागी आयोजक एसआरविएन मिडियालाई तयारी थाल्न समेत आग्रह गरे । कार्यक्रममा क्रियटिम प्रमुख सुरक्षा अधिकारी, सिभिल बैंकका सीईओ गोविन्द गुरुङ लगायतले आ–आफ्नो धारणा राखेका थिए । उक्त अवसरमा सहयोगीहरुलाई मायाको चिनो हस्तान्तरण समेत गरिएको थियो ।