पत्रकार डिबीको ‘नियत’ सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै पत्रकार डिबी खड्काको पुस्तक ‘नियत’को विमोचन गरिएको छ । लामो समयदेखि पत्रकारितामा सक्रिय डिबीले यसमा आफ्नो पत्रकारिताको क्रममा देखेको रङ्गीन दुनियाको अँध्यारो पाटोलाई उजागर गर्न खोजेको बताएका छन् । उनले नेपाली मनोरञ्‍जन दुनियाँलाई नजिकबाट नियाल्दा रंगीनभन्दा धेरै फिक्का महसुस गरेको समेत उल्लेख गरे । ‘बाहिरबाट हेर्दा जति चम्किलो छ भित्र त्यति नै अध्यारो’ उनले भने । पुरुषका लागि रंगीन र रोचक रहे पनि महिलाका लागि यो क्षेत्र कहाली लाग्दो रहेको निष्कर्ष उनले निकालेका छन् ।

‘सीमित महिलाबाहेक यस क्षेत्रमा लागेका अधिकांशको अनुहारमा देखिने हाँसोभित्र छुट्टै पीडाको सागरमा रहेको पाएको छु’ उनले भने । महिला कलाकारहरूमध्ये केहीले भोगेको हिंसालाई खड्काले पुस्तकका रूपमा आकार दिएका छन् । सोमबारदेखि बजारमा आएको पुस्तक ‘नियत’ लाई लेखक खड्कासंगै तिन अभिनेत्रीहरु रेखा थापा , स्वस्तिमा खड्का र लक्ष्मी वर्देवाले संयुक्त रुपमा विमोचन गरे । कलाकारिता क्षेत्रमा देखिएको चम्किलो आवरणभित्रको अँध्यारो पाटोका कथा नियतभित्र रहेको बताइएको छ । विमोचनपछि सञ्चारकर्मीसंग कुरा गर्ने क्रममा अभिनेत्री रेखाले महिला यौन हिँसामा परेको र पुरुष कलाकार आर्थिक रुपमा शोषित भएको बताएकी छिन् ।

पुस्तक पढ्दै जाँदा कहिँ कतै आफुलाई पाएको महशुस पनि नायिकाहरुले बताए । हरेक कथा आफ्नै जस्तो लाग्छ तर बेग्लै छ ती पात्र, जो अहिले पनि चलचित्र क्षेत्र र वरपर नै छन् । मात्र संभावनामा यिनै हुन् की जस्तो लाग्छ तर जो हुन् केही पात्र पूर्ण पीडित छन् । कोही पात्रलाई सम्झेर सल्युट गर्न मन लाग्छ, नायिका स्वस्तिमाले भनिन् ।