मन पनि बिरक्तिँदै, कुन्नी कहाँ डुल्दो रैछ


दयाराम दाहाल
घाम पनि चिसो लाग्ने, जुनले झनै पोल्दो रैछ
फूल पनि उराठिंदै, सुवासरहित फुल्दो रैछ
मन पनि बिरक्तिँदै, कुन्नी कहाँ डुल्दो रैछ
तिमी बिना नचिनेझैं, घरले पनि भुल्दो रैछ

प्रकृतिको नियम पनि परिवर्तन भए जस्तो
बसन्तमा वहार होईन, पतझड आए जस्तो
मेरा सारा खुशीहरुले मलाई छोडी गए जस्तो
तिमी बिना जिन्दगी त पानी बिना माछा जस्तो

माया पनि अर्थ बिहीन शब्द जस्तो लाग्ने रैछ
छायाँ पनि छुट्टिएर गए जस्तो लाग्ने रैछ
जिन्दगीको यात्रा सम्झी मन डराउँदो रैछ
तिमी बिना सुर ताल होस हराँउदो रैछ
-दयाराम दाहालको फेसबुकबाट, दाहाल चलचित्र विकास वोर्डका अध्यक्ष हुन् ।