दयाहाङ र वर्षा बने भिटामिन जुसको ब्राण्ड एम्बासडर


सेलिब्रेटी नेपाल

काठमाडौं:अभिनेता दयाहाङ राईले स्वस्थ रहन मानिस सजग रहनुपर्ने बताएका छन्। आफूले पनि कामको व्यस्तताले दैनिक जीवनमा स्वस्थ रहन अपनाउनुपर्ने केही सजगता बाध्यताका कारण अपनाउन नसकेको स्वीकारे। ‘हामीलाई थाहा छ यस्तो गर्नुपर्छ भन्ने तर हामीले त्यसलाई लागू गर्न सकिरहेका छैनौ’–उनले भने ।

हालै ‘डबल सी’नामक भिटामिन जुसको ब्राण्ड एम्बासडर बनेका दयाले स्वास्थ्य रहन भिटामिन सी निकै उपयोगी रहेको बताए। ‘हामीले कार्यव्यस्तताले गर्दा शरिरलाई चाहिने भिटामिन सी पाइरहेका हुँदैनौं, जसलाई केही हदसम्म यसले पूरा गर्नेछ’ –उनले भने। उनले आफू यसको ब्राण्ड एम्बासडर हुनुअगाडी सम्पूर्ण कुरा बुझेको समेत बताए।

दयासंगै यसको ब्राण्ड प्रवद्र्धनमा अभिनेत्री वर्षा सिवाकोटीले सघाउने छिन्। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको प्रोडक्टको बारेमा बोल्दै उनले पनि दयाकै केही शब्द सापटी लिँदै ‘डबल सी’ले स्वास्थ्यलाई फाइदा पुर्याउने बताइन्। यो जुसलाई सम्पूर्ण परिक्षणपश्चात नेपाल भित्र्याएको उक्त अवसरमा जानकारी गराइयो। थाइल्याण्डमा निकै रुचाइएको यो जुस सोमबारबाट नेपाली बजारमा उपलब्ध हुनेछ।

लेमन एण्ड लाइम र ओरेञ्ज एण्ड लेमन फ्लेभरमा बजारमा उपलब्ध हुने यो भिटामिन जुसको मुल्य एक सय रुपैयाँ रहेको छ। आयोजित कार्यक्रममा दया र वर्षाले जुसको लोकार्पण समेत गरे। कार्यक्रममै उपस्थित निर्देशक तथा निर्माता मिलन चाम्सले यो जुस नेपालमा आउनु सुःखद रहेको बताए। यसलाई रोविनेश इम्पोर्ट एक्सपोर्टले नेपाल भित्र्याएको हो। यस टिममा सुरेश राई, राजकुमार राई, रोविन राई, रमेश लामा, निश्चल लामा, रोमन राई रहेका छन्।