चलचित्रकर्मीको आन्दोलन व्यापक बन्दै



सेलीब्रेटी नेपाल पौष २८ गते-संचारमन्त्रीले आफ्ना माग प्रति कुनै पनि सुनुवाई नगरेपछि चलचित्रकर्मीहरुले आफ्नो आन्दोलनलाई व्यापक बनाउदै लगेका छन् । वुधबार चलचित्र बिकास बोर्डमा तालाबन्दी गरेर आन्दोलनको सुरुवात गरेका चलचित्रकर्मीहरु शुक्रबार सडकमा नै निस्किएका छन् । दिउँसो साढे दुई बजे देखि भृकुटीमण्डपबाट सुरु भएको र्‍याली पद्यमोदय मोड हुदै पुतलीसडक, बागबजारबाट रत्नपार्कमा पुगी कोण सभामा परिणत भएको थियो । र्‍यालीमा उपस्थित करिब ३ सय चलचित्रकर्मीले विरोध स्वरुप रत्नपार्क चौबाटोमा विम्वात्मक आत्महत्या गरेका थिए । कालो पट्टी सहित प्लेकार्ड बोकेर आन्दोलनमा सहभागी भएका फिल्मकर्मीहरुले रत्नपार्क स्काई ब्रिज तलको सडकमै सो कार्यक्रम गर्दा उक्त क्षेत्रमा ठूलो ट्राफिक जाम भएको थियो । करिब ४५ मिनेट लामो र्‍यालीका कारण ट्राफिक जाम नियन्त्रणमा लिन प्रहरीलाई करिब एक घण्टा समय लागेको थियो ।यसैबिच चलचित्रकर्मीहरुले आइतबार काठमाण्डौको नयाँ बानेश्वरमा सडक नाटक देखाउने बताएका छन् । संचारमन्त्रीले आफुहरुलाई झुटा आश्वासन दिएर वेइमानी गरेको बिषयलाई सडक नाटकमा देखाउने चलचित्रकर्मीहरुको भनाई छ ।