चार चलचित्र को महा भिडन्त



सेलीब्रेटी नेपाल पौष २७ गते- आज बाट चार चलचित्र को महा भिडन्त हुने भयको छ अध्याय,’ ‘धड्कनभित्र,’ ‘जलजला’ र ‘दलाल’ चार चलचित्र हुन् जुन शुक्रबारबाट रिलिज हुँदैछन्। ‘अध्याय’ का निर्देशक प्रबिण श्याङ्बा हुन् भने ‘जलजला’ शिवजी लामीछानेको निर्देशनमा बनेको हो। त्यस्तै, ‘धड्कनभित्र’ मदन घिमीरेको निर्देशनमा तयार भएको चलचित्र हो भने ‘दलाल’लाई विजय बस्नेतले निर्देशन गरेका छन् । एकै साथ रिलीज भएर यी चार चलचित्र ब्यावसायिक प्रतिस्पर्धाकालागी देशै भर भिड्न लागेका हुन्।
‘दलाल’मा २०६३ सालपछि मुलुकमा देखा परिरहेको राजनीतिक अवस्थालाई चित्रण गर्न खोजिएको छ । निर्देशक विजय बस्नेतकै निर्माण रहेको यस चलचित्रमा राज तिमल्सिना, सोनिया के.सी, सुनिल थापा लगायतका कलाकारले अभिनय गरेका छन् । सरोज प्याकुरेलको संगीत तथा सुमन तण्डुकार र विमल ढकालको छायांकन रहेको यस चलचित्रको कुल लागत ४२ लाख रुपियाँ रहेको छ । चलचित्रमा रोशन श्रेष्ठ र बाबु बलामीले संयुक्त द्वन्द्व निर्देशन गरेका छन्।


‘जलजला’ विदेशी शक्तिको आडभरोसामा भैरहेको नेपाली राजनीतिमाथिको प्रत्यक्ष हस्तक्षेपको विषयमा केन्द्रत चलचित्र हो । चलचित्र बिकास बोर्डले यसलाई बिशेष चलचित्रको मान्यतासमेत दिएको छ । बिषेस चलचित्रको मान्यता पाए पनि सेन्सर बोर्डबाट एडल्ट सटिफिर्केट पाएको यस चलचित्रमा हिंसा र मारकाटका थुप्रै दृश्य छन्। आयुष रिजाल, रेखा थापा, कमल कृष्ण, किशोर खतिवडा, नन्दु श्रीवास्तव, स्वर्गीय गोपाल भुटानी लगायतको अभिनय यस चलचित्रमा छ। चलचित्रमा बिकास बोर्डका पूर्व अध्यक्ष गणेश भण्डारी र निर्देशक लामिछानेको लगानी रहेको छ । चेतन सापकोटाको संगीत रहेको यस चलचित्रको छायांकन बिष्णु कल्पितले गरेका छन्।

एउटै परिवेशमा बस्ने फरक फरक स्वभावका तीनजना युवाले गर्ने गतिविधिले एकअर्कालाई कसरी प्रभाव पर्छ र त्यो प्रभावले उनीहरुको माया-प्रेममा कसरी खलल पुर्याउछ भन्ने बिषयलाई चलचित्र ‘अध्याय’को कथाको रुपमा प्रस्तुत गरेको छ। कर्मा, सुशिलराज पाण्डे, सिम्पल खनाल, शान्ती गिरी, आकाश मगर, स्वस्तिकराज भण्डारी लगायतले चलचित्रमा भुमिका निर्बाह गरेका छन्। ७५ लाख रुपैँयाको लागतम चलचित्र निर्माण भएको निर्माण पक्षले जनाएको छ। चलचित्रलाई उमेश श्रेष्ठ, रामहरि अधिकारी, सुरेन्द्र शाही र दिनेश श्रेष्ठले संयुक्तरूपमा निर्माण गरेका हुन्।

निर्देशक स्याङबोकै कथालेखनमा तयार भएको चलचित्रमा द्वन्द्व निर्देशन योगेन्द्र श्रेष्ठको र छायांकन राजिव मानन्धरको रहेको छ भने भिजुअल इफेक्ट अञ्जय खड्काले दिएका छन् । फाइभ ब्रो’ज प्रोडक्सन र फ्रेन्ड्स इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको ‘अध्याय’मा संगीत ‘ब्यर्नाल’ ब्यान्ड र आषशि चित्रकारले गरेका छन् । चलचित्रमा पाँच गीत रहेको चलचित्रका प्रस्तुतकर्ता सुशिलराज पाण्डे बताउँछन्।

साकुरा फिल्मको ब्यानरमा निर्माण भएको चलचित्र ‘धड्कन भित्र’ सञ्जिव र क्यानन श्रेष्ठको संयुक्त निर्माणमा तयार भएको हो। राजेश हमाल, प्रशान्त तामाङ, ऋचासिंह ठकुरी, रामकेशर बोगटी, नारायण त्रिपाठी, गणेश उप्रेती, आदिको अभिनय यस चलचित्रमा समेटीएको छ। जसले नजिकको सम्बन्ध बनाउन सक्छ, उही नै धड्कनभित्र बस्ने मान्छे बन्न सफल हुन्छ भन्ने सन्देस रहेको यस चलचित्रका प्रस्तुतकर्ता रत्न घोला रहेका छन् । चलचित्रमा नृत्य शिब बिक र बिनोदको तथा संगित बसन्त सापकोटाको रहेको छ भने लेखन शिवम अधिकारीको छ।