डि सिने अवार्ड पोखरामा सबैलाई खुसी पार्न मात्रै, क-कस्ले पाए अवार्ड ?


सेलिब्रेटी नेपाल पोखरा
राजधानीबाट सरेर तालनगरी पोखरा पुगेको ‘आठौँ डि सिने अवार्ड’ सबैलाई खुसी पार्नमै सीमित रह्यो । करिब साढे २ सय कलाकार बोकेर आइपुगेको आयोजक छायाँछवि क्रियसनले उनीहरुलाई सकेसम्म रित्तो नर्फकाउने गरी मन राख्न यसअघि सार्वजनिक विधाभन्दा बाहिरबाट अवार्ड तथा सम्मान गर्यो । पाँचतारे होटल द ग्राण्डमा निर्धारित समयभन्दा करिब १ घण्टा ढिलो सुरु उक्त समारोहमा २६ विधामा उत्कृष्ट ५ को मनोनयन गरी अवार्ड वितरण गर्नुपर्नेमा विभिन्न खालका डेढ दर्जन सम्मान र अवार्डले कार्यक्रम अनावश्यक लम्बिन पुगेको थियो । गत साउन ६ मा २६ विधा कायम गरी उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिए पनि आयोजकले सिमा नाघेर उत्तिकै हाराहारीमा अन्य सम्मान बाँडेको हो ।
d-cine-awardअवार्डमा भाग्यमानी बनेकाहरु को को रहे ?

क्लासिक चलचित्र उत्कृष्ट चलचित्र बन्दै अभिनेता र अभिनेत्रीको अवार्ड पनि आफ्नै पोल्टामा पारेको छ । सार्वजनिक २६ विधालाई आधारमान्दा १२ विधामा उत्कृष्ट मनोनयनमा परेको उक्त फिल्मले गायक, सम्पादनतर्फको विधामा पनि अवार्ड पाएको हो ।

वर्षको उत्कृष्ट अभिनेतामा क्लासिकबाट आर्यन सिग्देल र सोही फिल्मबाट अभिनेत्री नम्रता श्रेष्ठले अवार्ड पाए । नायक सिग्देल स्वयंले दुबैको अवार्ड ग्रहण गरे । क्लासिकबाटै उत्कृष्ट गायकमा युवराज चौलागाई (हारेहारे..) र सम्पादनमा सुरेन्द्र पौडेलले अवार्ड हात पारे ।

उत्कृष्ट निर्देशन विधामा दीपेन्द्र के खनाल (पशुपतिप्रसाद) अब्बल ठहरिए । सबैभन्दा बढी मनोनयन परेको वडा नं. ६ ले पनि क्लासिक समान ५ विधामा अवार्ड पायो । क्लासिकको निर्देशन दीनेश राउतले गरेका हुन् भने वडा नं. ६ को उज्ज्वल घिमिरेले ।

वडा नं. ६ बाट सहअभिनेता विधामा जीतु नेपाल, चरित्र अभिनेत्रीमा दीपाश्री निरौला, हाँस्य कलाकारमा केदार घिमिरे, संवादमा दीपकराज गिरी, पाश्र्व संगीतमा एलिस कार्कीलाई उत्कृष्ट ठान्दै अवार्ड वितरण गरियो ।

उत्कृष्ट पटकथामा खगेन्द्र लामिछाने र खलपात्रमा विपिन कार्की चलचित्र पशुपतिप्रसादबाट उत्कृष्ट बने ।

फिल्ममा जस्तै प्रेमगीत अवार्डको गीत संगीत विधामा पनि अब्बल बन्यो । जसबाट नृत्य निर्देशक विधामा रेनेशा राई, गीतकार कृष्णहरि बराल, गायिका अन्जु पन्त, संगीतकार अर्जुन पोखरेलले मनोनयनमा परेका प्रतिष्पर्धी चारलाई पछि पार्दै अवार्ड चुमे ।

चलचित्र ड्रिम्सलाई ३ विधामा उत्कृष्टको उपाधि हात प¥यो । उत्कृष्ट नवनिर्देशकबाट भुवन केसी, नवअभिनेत्रीमा साम्राज्य राज्यलक्ष्मीदेवी शाह र छायांकनमा पुरुषोत्तम प्रधान÷संजय लामा परेका हुन् ।

आशिष्मा नकर्मी ६ विधामा सूचीकृत अर्धकट्टीबाट सहअभिनेत्री विधामा उत्कृष्ट बनेर इज्जत राखिन् भने त्यस्तै हालत रह्यो–कवड्डी कवड्डीको पनि । उक्त फिल्म ५ विधामा मनोनयन परेकोमा उक्त फिल्मबाट उत्कृष्ट चरित्र अभिनेता बन्न पोखरेली माउत्से गुरुङलाई मौका मिल्यो ।

त्यस्तै, नवअभिनेतामा पल शाह (नाइ नभन्नु लु–४), कथामा सन्तोषकुमार आत्रेय (धौली), द्धन्द्ध निर्देशक हिमाल केसी (भैरव), आइटम डान्समा प्रियंका कार्की (लुटेरा) ले विधागतरुपमा उत्कृष्टको अवार्ड पाए ।

सबैभन्दा आश्चर्यजनक कुरा त के रह्यो भने ८ विधामा मनोनयन परेको फूलै फूलको मौसम तिमीलाई कुनै पनि विधामा अवार्ड दिइएन ।

त्यसो त यसअघि उत्कृष्टको मनोनयन सार्वजनिक गर्ने बेलामै विवादमा फस्दैआएको थियो । उत्कृष्ट छान्ने जिम्मा मोहन निरौला संयोजक रहेको जुरी कमिटीलाई दिइएको थियो । जसमा पत्रकार विजयरत्न तुलाधर, संगीतकार सन्तोष श्रेष्ठ र छायाँकार सवनम मुखिया सदस्य थिए । जुरी कमिटीका संयोजक निरौलाले कमिटीले निष्पक्ष गर्ने प्रयास गरेको दाबी गरे पनि आखिर अवार्ड समारोह विवादमुक्त हुन सकेन ।

स्वागत मन्तव्यमा चलचित्र पत्रकार संघका अध्यक्षसमेत रहेका छायाँछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले फिल्म क्षेत्रलाई उचाइमा पु¥याउने उद्देश्यले अवार्ड कार्यक्रमलाई निरन्तरता दिइएको बताए । उनले नवौं संस्करण धरानमा गर्ने जानकारी दिए ।

समारोह सुरुवातमै छायाँ छवि चलचित्रकर्मी रजत सम्मान अभिनेत्री करिष्मा मानन्धरलाई सम्मानपत्रसहित सम्मान गरियो । त्यस्तै, चलचित्रकर्मी सम्मान निर्माता छविराज ओझा र छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट संचारकर्मी नरेश भट्टराई पुरस्कृत भए ।

त्यस्तै, क्रिटिक अवार्डबाट अभिनेत्री केकी अधिकारी (फन्को), अभिनेता सौगात मल्ल (फन्को) र चलचित्रमा क्रिटिक अवार्डबाट पशुपतिप्रसाद सम्मानित हुँदा मष्ट पलुलर सङ अफ दी इयर सुर्के थैली खै (वडा नं.६), जुरी अवार्डबाट फिल्म कवड्डी कवड्डी, पब्लिक च्वाइस अफ दी अवार्डबाट सुदर्शन थापा (प्रेमगीत), इन्करेज्मेण्ट अवार्ड रामेश्वर चौरसिया सम्मानित भए।

यस्तै, वेष्ट ड्रेस विना घले, वेष्ट एनिमेसन फूलै फूलको मौसमबाट रमेशमान श्रेष्ठ, वेष्ट स्टारडम अवार्ड निखिल उप्रेती, डायस्पोरा फिल्म अवार्ड रविन आचार्य, चलचित्र सम्मान रमेशचन्द्र राई, निर्मल शर्मा, मौलिक चलचित्रमा धौलीले अवार्ड पायो ।
डिजिटल फरम्याटमा बनेका ६७ चलचित्रलाई सहभागी गराइएको आयोजकले जनाएको छ । फिल्म अवार्ड भएपछि फिल्मका कलाकारको प्रस्तुति बेसी नै हुने अपेक्षा गरिए पनि सोचेजस्तो नभएको एक दर्शकको गुनासो थियो । बढीजसो स्थानीय कलाकारलाई मंचमा उतारिएको उक्त समारोहमा कलाकार कुर्सीमै बसेर ताली पिट्नमै व्यस्त देखिए । हाँस्यकलाकार दीपकराज गिरी र जितु नेपालको प्रस्तुतिमा भने दर्शक पेट मिचीमिची हाँसे । कार्यक्रम संचालनमा जितु नेपाल र निरु श्रेष्ठले पनि सघाएका थिए ।
डिसी नेपाल डट कम बाट जस्ताको तेस्तै

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.