कुरा होइन काम गर्नेछु बोर्ड अध्यक्ष राई


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष राजकुमार राईले सोमबार पदभार ग्रहण गरेका छन् । लामो समयदेखि रिक्त रहेको बोर्ड अध्यक्षमा चलचित्र निर्माता संघका अध्यक्षसमेत रहेका राईलाई सरकारले शुक्रबार नियुक्त गरेको थियो । नवनियुक्त अध्यक्ष राई बाजागाजासहित बोर्ड भित्रिएका थिए । नवनियुक्त अध्यक्षको स्वागतका लागि सोमबार विकास बोर्डमा आयोजित कार्यक्रममा चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिले अध्यक्ष राईलाई बधाइ र कार्यकालको सफलताको शुभकामना व्यक्त गरे । उनीहरू सबैले लामो समयदेखि चलचित्र कर्ममै सक्रिय राईलाई सरकारले विकास बोर्ड अध्यक्ष बनाएकोमा खुसी व्यक्त गरे । चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले राई चलचित्र क्षेत्रलाई निकै राम्रोसँग बुझेको चलचित्रकर्मी भएकाले अब नेपाली चलचित्रको विकास द्रुत गतिमा हुने विश्वास व्यक्त गरे । उनले भने, ‘चलचित्रकर्मीहरूको आन्दोलनको म्यान्डेटअनुसार नै सरकारले बोर्ड अध्यक्षमा चलचित्रकर्मीलाई नियुक्त गरेको छ, यो निकै राम्रो काम भएको छ ।
Raj-kumar-rai
अब यस क्षेत्रको यथोचित विकास हुनेमा आशा पलाएको छ । चलचित्र निर्माता संघका उपाध्यक्ष उदय सुब्बाले बोर्ड अध्यक्षमा राजकुमार राई नियुक्त हुनु आदिवासी जनजाति चलचित्रकर्मीहरूका लागि निकै राम्रो कुरा भएको बताउँदै बाहुनक्षेत्रीलाई देखाउनका लागि भए पनि जनजाति भाषाका फिल्मलाई अंग्रेजी सबटाइटल राखेर प्रदर्शन गर्नुपर्नेमा जोड दिए । ‘आदिवासी, जनजातिले आफ्ना भाषामा भटाभट फिल्म बनाउँछन्, तर मूल धारका फिल्मजस्तो सुविधा, मान्यता पाउँदैनन्,’ उनले भने, ‘धेरैले च्यारिटी गरेर पैसा उठाउँछन्, तर दर्ता गर्ने, हलमा चलाउनेतिर लाग्दैनन् । त्यसैले उनीहरूका लागि पनि ठोस नीति ल्याउन जरुरी छ ।’ उनले राई अध्यक्ष भएकाले अब ‘केही हुने’ आशा व्यक्त गरे ।

टेलिचलचित्र मञ्चकी अध्यक्षसमेत रहेकी अभिनेत्री दीपाश्री निरौलाले नवनियुक्त अध्यक्ष राई सबैका दाइ भएकाले चलचित्र क्षेत्र अब विकासको बाटोमा लम्कने विश्वास व्यक्त गरिन् । ‘उहाँ थरले राई भए पनि सबैको दाइ हो, त्यसैले सबै प्रकारका चलचित्र र चलचित्रकर्मीलाई समान व्यवहार गर्नुहुनेछ,’ दीपाश्रीले भनिन्, ‘यहाँ कोही आदिवासी, क्वार्टर, पूरावासी छैन, हामी सबै नेपाली हौँ । सबै नेपाली फिल्म हुन् ।’

निर्माता तथा वितरक प्रदीपकुमार उदयले राईको कार्यकालको सफलताको शुभकामना व्यक्त गरे । ठप्प रहेको नेपाली फिल्म व्यापारलाई सुधारेर गति दिनका लागि अध्यक्ष राईले उल्लेखनीय भूमिका खेल्नुपर्नेमा जोड दिए । निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले नवनियुक्त अध्यक्ष राई आफैँमा नेपाली चलचित्रबारे पूर्ण जानकार रहेकाले यस क्षेत्रका लागि के गर्नुपर्छ भन्ने कुरा उहाँलाई सिकाइरहनु नपर्ने बताए । डिसीले राष्ट्रिय चलचित्र नीति लागू गराउन अध्यक्ष राईले पहल गर्नुपर्ने बताए । बोर्ड अध्यक्षमा आफ्नो नियुक्तिप्रति सम्पूर्ण चलचित्रकर्मी हर्षित भएकोमा आफूलाई निकै खुसी लागेको अध्यक्ष राईले बताए ।

उनले आफू कुरा होइन, काम गर्न आएको बताउँदै आफूले तत्काल गर्नुपर्ने केही कार्यहरूको फेहरिस्त बुँदागत रूपमा प्रस्तुत गरे । उनले बोर्डमार्फत आफूले तत्काल गर्ने कार्यमा भूकम्पका कारण आहत भएका चलचित्र भवन, प्राविधिक, पत्रकार तथा अन्य चलचित्रकर्मीको वास्तविक अवस्था पत्ता लगाई उनीहरूलाई राहत र पुनस्र्थापनाका लागि समिति गठन गर्ने र सो समितिले दिएको प्रतिवेदनका आधारमा क्षमताले भ्याएसम्म सहयोग गर्ने, भूकम्पले गर्दा लथालिंग भएको फिल्म रिलिजलाई चलचित्रसम्बन्धी संघसंस्थाहरूसँग गोलमेच गरी प्राप्त सुझाब र सल्लाहअनुसार सरल र व्यवस्थित बनाउने, फिल्म वर्गीकरण र बक्स अफिस तत्काल लागू गराउन पहल गर्ने, राष्ट्रिय चलचित्र नीति कार्यान्वयनका लागि सोसम्बन्धी ऐन, नियमको तर्जुमा गराउने, चलचित्रकर्मीको अभिलेख राख्ने तथा बोर्डले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मानलाई पूर्वनिर्धारित समयमै सम्पन्न गर्न यसै सातादेखि काम थाल्नेलगायत छन् । अध्यक्ष राईले नेपाली चलचित्रको विकास, विस्तार र उन्नतिका लागि बोर्डले थुप्रै काम गर्न बाँकी रहेको र यसका लागि सबैको साथ र सहयोग अपरिहार्य रहेको बताए । उनले आफ्नो कार्यकालमै चलचित्र क्षेत्रले काँचुली फेर्ने दाबीसमेत गरे ।

अभिनेत्री करिश्मा मानन्धर, निर्माता, निर्देशक आकाश अधिकारी, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, चलचित्र नृत्यनिर्देशक संघका अध्यक्ष अच्युत घिमिरे, विश्वकै कान्छा निर्देशक सौगात विष्टलगायतले नवनियुक्त अध्यक्ष राईलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
नयाँ पत्रिका बाट साभार