अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) सकियो


सेलेब्रिटी नेपाल मंसिर २७- काठमाडौँमा पाँच दिन सम्म चलेको अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) सकियको छ किम्फको सुरुको शो मा प्रदर्शन गरियको केसाङ छेतेनले बनाएको ‘हु वील बी अ गोर्खा’ पब्लिक च्वाईस सहित अर्न्तराष्ट्रिय पानारोमाको पहिलो अवार्ड जित्न सफल भएको छ ।बेलायती सेनामा भर्ति हुन नेपालीहरुले गर्नु परेको संघर्षको कथालाई ७५ मिनेटमा उतारिएको यो फिल्मले सर्वोत्कृष्ट भए वापत १५ सय अमेरिकी डलर पुरस्कार पाएको छ । यस्तै दोस्रो हुँदै पोल्याण्डको ७० मिनेटको फिल्म ‘आर्ट अफ फ्रिडम’ ले १ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । भृकुटीमण्डप स्थित सिटी हलमा खचाखच दर्शकको उपस्थितीमा वितरण गरिएको पाँच सय डलरको तेस्रो पुरस्कार फ्रान्सको ९० मिनेटको फिल्म ‘नो मेडिक नाईटस’ ले पाएको छ ।

गत २२ गते देखि सुरु भएको यो महोत्सवको नेपाल पानारोमा तर्फ उत्कृष्ट ३० मिनेटको ‘काठमाण्डू’ उत्कृष्ट ठहरियो । रमेश खड्काले बनाएको यो फिल्मले ५० हजार नेपाली रुपैयाको पुरस्कार प्राप्त गर्यो । असिम चित्रकारको ११ मिनेट ४६ सेकेन्डको ‘हरि’ टाईटलको फिल्मलाई चलचित्र बिकास बोर्डको तर्फबाट प्रोत्साहन स्वरुप २५ हजार राशिको पुरस्कार प्रदान गरियो ।किम्फको अन्तिम दिन नेपाली फिचर फिल्म सुनगाभाको रेड कार्पेट प्रिमियरको साथमा एरिक भ्यालिले बनाएको यार्सागुम्बा सम्बन्धी डकुमेन्ट्री ‘हिमायलन गोल्ड रस’ प्रदर्शनसंगै किम्फ समापन भयो । किम्फमा २८ देशका ६२ वटा लामा छोटा फिल्म तथा डकुमेन्ट्री प्रदर्शन गरिएका थिए ।