‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, काजीको वैवाहिक जीवन, मैया र काजीको सम्बन्ध

काजीको पारिवारिक ट्विस्ट, शान्ति मिसको खोजी र बिपिन कार्कीको धमाकेदार इन्ट्री


सेलिब्रेटी नेपाल। निर्देशक रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा काजीको वैवाहिक जीवन, मैया र काजीको सम्बन्धको नयाँ पाटाहरू र बिपीन कार्कीको भूमिकालाई टिजरभन्दा अझ बढी प्रस्ट र मनोरञ्जनात्मक रूपमा देखाइएको छ । ट्रेलरमा बेरोजगारीबाट दिक्क भएर काजी, बीके र छन्त्यालले मुस्ताङमा शान्ति होटल खोलेर नयाँ व्यवसाय सुरु गरेको देखाइएको छ । नयाँ व्यवसाय सुरु गरेपछि कथामा झन् ठूलो ट्विस्ट आउँछ, जहाँ सृजना गुरुङले निभाएको नयाँ मैयाको पात्रसँग काजीको विवाह भएको देखाइएको छ ।

यसका साथै काजीको टोली, र गाउँमा छिरेको बिपिन कार्कीको रैथाने गुन्डा समूहबीच हुने टक्कर, एक्सन र कमेडी शैलीका कारण ट्रेलर निकै धमाकेदार बनेको छ । साथै ट्रेलरको अन्त्यतिर काजी र मैया एउटै गाडीमा कतै गइरहेको दृश्यले दर्शकलाई थप कौतुहलता पैदा गर्ने देखिन्छ ।

काजीको पारिवारिक ट्विस्ट, शान्ति मिसको खोजी र बिपिन कार्कीको धमाकेदार इन्ट्रीका कारण ट्रेलरले सिनेमालाई लिएर दर्शकको उत्सुकता र पर्खाइ झनै बढाउने देखिन्छ ।

नेपाली सिने बजारमा ‘कबड्डी’ का अघिल्ला चारवटै शृङ्खला बक्स अफिसमा सुपहिट र ब्लकबस्टर साबित भइसकेका छन् । सोही क्रेजलाई निरन्तरता दिँदै निर्माण गरिएको यस वर्षकै सबैभन्दा प्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ यस वर्ष दशैंको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेबाट प्रदर्शनमा आउनेछ ।

सिनेमामा कलाकारहरू दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङले लगानी गरेका छन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.