
काठमाडौं । १९औँ संस्करणको मिस नेवाः नेपालको उपाधि ललितपुर पाटनकी तिशा शाक्यले जितेकी छन्। फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै शाक्यले उपाधि जितेकी हुन्।
उपाधिसँगै तिशाले नगद १ लाख रुपैयाँ प्राप्त गरिन्। उनले मिस नेवाः नेपालको मुख्य ताजसँगै गोदावरी नगरपालिका बेस्ट नेपालभाषाको उपाधिसमेत जितिन्। उक्त विधाका लागि उनले थप १० हजार रुपैयाँ प्राप्त गरिन्।
प्रतियोगितामा सारिका महर्जन फस्ट रनर्सअप र जेसिका श्रेष्ठ सेकेन्ड रनर्सअप घोषित भए। सारिकाले ५० हजार तथा जेसिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख तथा पूर्व मिस नेवाः नेपाल सुनिता डंगोलको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो।
सबनम शाक्य मिस ट्यालेन्ट घोषित हुँदा हिमानी प्रधान फस्ट रनर्सअप र करुणा चक्रधर सेकेन्ड रनर्सअप बने। करुणा चक्रधर र शिक्षा महर्जन सोसियल वेलफेयर एम्बेसडर चिफ घोषित भए। उक्त विधामा सारिका महर्जन फस्ट रनर्सअप र दृष्टि महर्जन सेकेन्ड रनर्सअप बने।
प्रतियोगितामा दुर्गा देउलाले मिस डिसिप्लिन, हिमानी प्रधानले मिस पब्लिक च्वाइस तथा प्रिस्टिन अवालेले बेस्ट ड्रेसको उपाधि जिते। शिक्षा महर्जनले नगद १० हजार रुपैयाँसहित कञ्चनजंघा अगरबत्ती मिस कल्चर तथा निश्ला महर्जनले नगद १० हजार रुपैयाँसहित बेलाभिटा मिस पर्सनालिटीको उपाधि प्राप्त गरे।
त्यस्तै, कलशा अवालेले नगद १० हजार रुपैयाँसहित श्री केश बेस्ट हेयर, दृष्टि महर्जनले बेस्ट स्किन, सारिका महर्जनले तस्बिर मिस फोटोजेनिक, अनुष्का नाकर्मीले मिस स्माइल तथा सोनिया महर्जनले मिस चार्मिङको उपाधि जिते। मिस फ्रेन्डसिपको उपाधि रेजिना बज्राचार्यले प्राप्त गरिन्।
नमुना कलेज अफ फेसन टेक्नोलोजीकी संस्थापक प्रिन्सिपल तथा फेसन डिजाइनर ज्ञानी शोभा तुलाधर प्रमुख निर्णायक रहेको प्रतियोगितामा अधिवक्ता लक्ष्मण महर्जन, नमुना कलेज अफ फेसन टेक्नोलोजीका भाइस प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, नेपाल लिपि गुठीका पूर्वअध्यक्ष अनिल स्थापित, सञ्चारकर्मी तथा समाजसेवी रोहन श्रेष्ठ, नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकी सहसंस्थापक तथा निर्देशक स्वरूपा श्रेष्ठ र नेपाल क्यान्सर रिलिफ सोसाइटी काठमाडौं शाखाकी सचिव प्रा. दिव्यलक्ष्मी बज्राचार्य निर्णायक थिए।
फाइट फर लाइफ नेपालकी वरिष्ठ सल्लाहकार तथा नेपाल क्यान्सर रिलिफ सोसाइटी काठमाडौं शाखाकी उपाध्यक्ष प्रा. डा. विमला शाक्यको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको हो।
नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवा समुदायको भाषा, संस्कृति, कला र सामाजिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले मिस नेवाः नेपाल आयोजना गर्दै आएको बताइन्। उनका अनुसार प्रतियोगितामा सौन्दर्यसँगै प्रतिभा, व्यक्तित्व, अनुशासन, नेपालभाषा, आत्मविश्वास र सामाजिक उत्तरदायित्वलाई समेत मूल्यांकन गरिन्छ।
रोजिन शाक्यको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितामा मिस नेवाः प्रलिशा शाक्य र मिस नेवाः सोसियल वेलफेयर एम्बासडर चिफ तिमिला महर्जन सह–संयोजक तथा मिस नेवाः सकिना महर्जन र कृषा महर्जन संयोजक रहेका थिए।


