
काठमाडौँ । भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहिबार एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिज गरेको हो। ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलर ४ मिनेट लामो छ। ट्रेलरमा मुख्य कलाकार नीता ढुङ्गाना र अशोक दर्जीबीचको दिदीभाईको माया पर्दामा देख्न सकिन्छ। अटिजम भएकी दिदीको माया र भाईको दिदीप्रतिको कारुणिक भाव ट्रेलरमा देख्न सकिन्छ।
नीता ढुङ्गानाकै निर्देशनमा बनेको यस फिल्मको मुख्य भूमिकामा निर्देशक ढुङ्गाना र अशोक दर्जी रहेका छन्। नीता र अशोकका साथमा फिल्ममा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल,दिप्त प्रकाश अधिकारी लगायतको मुख्य अभिनय रहेको छ।
निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको यस फिल्मको स्क्रिप्ट भने शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन रहेको यस फिल्मको नृत्य निर्देशन रामजी लामिछानेको छ।
फिल्मको प्रोडक्सन म्यानेजर र कार्यकारी निर्माता शंकर पाण्डे हुन् भने निर्मातामा हरिहर अधिकारी रहेका छन्। फिल्मको सम्पादन तथा टिजर र ट्रेलर साहिल खानले तयार पारेका हुन् ।


