
काठमाडौं । बलिउडका चर्चित गायक नवजोत आहुजा नेपाल आएका छन् । उनी बुधबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।
ठमेलस्थित क्लब नोभाले बुधबार आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदैछ । सोही अवसरमा आयोजना हुने सांगीतिक कार्यक्रममा प्रस्तुति दिन आहुजा नेपाल आएका हुन् । उनले ‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ लगायत आफ्ना चर्चित गीतमा दर्शकलाई झुमाउनेछन् ।
‘तेरे लिए मंदिर जाऊँ, तेरे नाम का दिया जलाऊँ’ आहुजाको सांगीतिक यात्राको चर्चित गीत हो । यो गीत उनको ‘खत’ एल्बममा समावेश छ । त्यसबाहेक ‘तू ही हूँ’, ‘खुद से मोहब्बत’, ‘इंतज़ार’, ‘मेरे हो तुम’, ‘चले गए’लगायत उनका दर्जनौँ गीत चर्चित छन् ।
आहुजा पहिलोपटक नेपाल आएका हुन् । नेपाल आएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली दर्शकमाझ प्रस्तुति दिन आफू निकै उत्साहित रहेको बताए ।
“म पहिलोपटक नेपाल आएको हुँ । मलाई नेपाल मन पर्छ । नेपाली संस्कार र संस्कृति राम्रो लाग्छ,” उनले भने, “नेपाली दर्शकमाझ आफ्नो प्रस्तुति दिन म निकै उत्सुक छु ।”
नेपाली संगीतप्रति आफ्नो झुकाव रहेको बताउँदै उनले नेपाली गीत पनि सुन्ने गरेको बताए । कुनै नेपाली संगीतकारले गीत गाउन प्रस्ताव गरे आफू तयार रहेको उनको भनाइ छ ।
आहुजाको नेपाल बसाइ तीन दिनको हुनेछ । यस अवधिमा उनले काठमाडौंका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्नेछन् ।
क्लब नोभाको पहिलो वार्षिकोत्सवको कार्यक्रम बुधबार राति ९ बजे सुरु हुनेछ । क्लबका संस्थापक विशाल तुलाचनका अनुसार कार्यक्रममा आमन्त्रित पाहुनालाई प्राथमिकता दिइएको छ ।
“हामीले पहिलोपटक नोभाको सेलिब्रेसन गर्न लागेका हौँ । सेलिब्रेसन कार्यक्रममा दर्शकभन्दा पनि आमन्त्रित पाहुनालाई बढी प्राथमिकता दिएका छौँ,” उनले भने, “करिब ९० प्रतिशत आमन्त्रित पाहुना र १० प्रतिशत मात्र टिकट बिक्रीका लागि राखिएको छ ।”
उनका अनुसार कार्यक्रममा गायक आहुजाको मात्रै प्रस्तुति रहनेछ ।


