
काठमाडौं । सञ्जय राईको डेब्यु निर्देशनमा बन्न लागेको फिल्म ‘एक्का मिस्सी बादशाह’का लागि कलाकार आह्वान गरिएको छ । निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै फिल्मका दुई मुख्य पुरुष पात्र ‘कृष’ र ‘अर्जुन’का लागि कलाकार खोजेको हो ।
फिल्मको मुख्य भूमिकामा अभिनेत्री साम्राज्ञी आरएल शाह यसअघि नै अनुबन्धित भइसकेकी छन् । उनले फिल्ममा ‘आश’ पात्रको भूमिका निर्वाह गर्नेछिन् । निर्माण पक्षले साम्राज्ञीको अपोजिटमा देखिने दुई मुख्य पुरुष कलाकारको खोजी गरेको हो ।
निर्माण पक्षका अनुसार दुवै पात्रलाई पर्दामा जीवन्तता, गहिराइ र वास्तविक भावना उतार्न सक्ने कलाकार आवश्यक छ । यी गुणमा पोख्त कलाकारलाई प्राथमिकता दिइने बताइएको छ ।
‘कृष’ र ‘अर्जुन’ पात्रका लागि २५ देखि ३५ वर्ष उमेर समूहका कलाकारको अडिसन आह्वान गरिएको छ । पोस्टरमा उल्लेख भएअनुसार ‘कृष’ परिस्थितिवश विशेष सुविधा पाएको र अपेक्षाको भारी बोकेर जन्मिए पनि आफूलाई कुनै निश्चित परिभाषामा सीमित राख्न अस्वीकार गर्ने पात्र हो । यस्तै, ‘अर्जुन’ दबाबमा काम गर्ने, सधैं जिम्मेवार रहने र सीमितताभन्दा पर सोच्ने पात्रका रूपमा प्रस्तुत हुनेछ ।
अडिसनमा सहभागी हुन इच्छुक कलाकारले पोस्टरमा राखिएको क्यूआर कोडमार्फत फाराम भर्न सक्नेछन् । त्यसपछि तोकिएको प्रक्रियाअनुसार अडिसन भिडियो बुझाउनुपर्नेछ । आवेदन बुझाउने अन्तिम मिति भदौ १४ गते अर्थात् अगस्ट ३०, २०२६ सम्म रहेको छ ।
मोहिनीदेवी राईको प्रस्तुतिमा बन्न लागेको फिल्म युवापुस्ताको कथामा आधारित हुनेछ । डेब्यु निर्देशक राईले साउन ९ गते काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत फिल्म निर्माणको घोषणा गरेका थिए । फिल्म उनकै लगानीमा निर्माण हुनेछ ।
फिल्ममा सुदीप्ता कार्यकारी निर्माता, एलोन गुरुङ लाइन प्रोड्युसर तथा सुपथ श्रेष्ठ प्रोजेक्ट सुपरभाइजरका रूपमा रहेका छन् ।
फिल्मको छायांकन आगामी फागुनदेखि सुरु हुनेछ । नरेन्द्र मैनालीले छायांकन गर्ने फिल्ममा निकेश कार्की र रोमन बज्राचार्य संगीत निर्माता, आशिम रानाभाट स्टाइलिस्ट तथा सुनिल शिवभक्तिले सम्पादनको जिम्मेवारी सम्हाल्नेछन् ।


