प्रदीप खड्काको अन्तर्राष्ट्रिय प्रोजेक्ट ‘टनेल २६’को टिजर सार्वजनिक


काठमाडौं । चौधरी ग्रुपका निर्वाण चौधरीले नेपाली अभिनेता प्रदीप खड्का, भारतीय फिल्ममेकर प्रशान्त कुमार गुप्ता र भुटानका चर्चित अभिनेता संगय छेल्ट्रिमसँगको सहकार्यमा निर्माण गरेको फिल्म ‘टनेल २६’को टिजर सार्वजनिक गरिएको छ ।

शुक्रबार सार्वजनिक टिजरमा अनुपविक्रम शाही, आना शर्मा, संगय छेल्ट्रिम, रोशिनी दादा, निडुप दोर्जी, फुन्छोक धोन्डेन, डेकी लामो, जामयाङ तेन्पा, फुन्छो किनरब, चेन्चो लामा, केजाङ काज, त्सेकी वाङ्दी, काया ग्येल्त्सेन, नामगे डीजे, जिग्मे कार्लोस, चाब्लोप पासु र उग्येन दोर्जीलगायत कलाकार देखिएका छन् ।

साङ्गे शेल्ट्रिम फिल्म्स र पिक एक्सभी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मका लेखक तथा निर्देशक डीडी किन्ले हुन् । मूल रूपमा भुटानको राष्ट्रिय भाषा ‘जोङ्खा’मा निर्माण भएको यो फिल्म नेपाल, भुटान र भारतका कम्पनीहरूको संयुक्त निर्माण हो ।

फिल्मका संयुक्त निर्मातामध्ये पिक एक्सभी निर्वाण चौधरीको स्वामित्वमा रहेको फिल्म निर्माण कम्पनी हो । निर्वाणका पिता तथा चौधरी ग्रुपका प्रमुख विनोद चौधरीले विसं २०३९ सालमा ‘वासुदेव’ फिल्म निर्माण गरेका थिए । त्यसको झन्डै साढे चार दशकपछि उनका छोरा निर्वाणले फिल्म निर्माणमा हात हालेका हुन् ।

करिब ६ महिनाअघि छायांकन सकिएको फिल्मको हाल थाइल्यान्डमा पोस्ट प्रोडक्सनको काम भइरहेको छ । नेपाली, जोङ्खा र भारतीय भाषामा समेत प्रदर्शन हुने यो फिल्मले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय तथा क्षेत्रीय बजारसँग जोड्ने महत्त्वाकांक्षी प्रयासका रूपमा हेरिएको छ ।

डोरजिग्स प्रोडक्सन, रेल्टिक पिक्चर्स, डोमसिप र रोलिङ इमेज पिक्चर्सको निर्माणमा बनेको फिल्मका कार्यकारी निर्माता दोर्जी वाङ्चुक र क्रिएटिभ निर्माता प्रदीप खड्का हुन् ।

क्रिएटिभ प्रोड्युसरका रूपमा रहेका प्रदीप खड्काका लागि ‘टनेल २६’ निर्माणको हिसाबले चौथो फिल्म हो । यसअघि उनले ‘स्केप’, ‘ठूलो मान्छे’ र ‘एक्लो’ जस्ता फिल्ममा निर्माण सहकार्य गरिसकेका छन् ।

निर्माण पक्षले फिल्मलाई अक्टोबर महिनामा रिलिज गर्ने तयारी गरेको छ । तीनै देशका कलाकार तथा प्राविधिकको संलग्नता रहेको फिल्म हलसँगै भारतको प्रतिष्ठित ओटीटी प्लेटफर्ममा समेत रिलिज गरिने जनाइएको छ ।

फिल्मको छायांकन दीर्घ गुरुङ र साङ्गे टी. तेन्जिङले गरेका छन् । एक्सन निर्देशन राजु तामाङ, प्रोडक्सन डिजाइन कृष्ण शर्मा, प्रोडक्सन व्यवस्थापन पेमा लामो तथा मेकअप र कस्ट्युम ब्लु छिरिङ दोर्जीले सम्हालेका छन् ।

त्यस्तै, फिल्ममा तेर्डसाक जान्पानको संगीत, करण थामावोङको साउन्ड डिजाइन तथा रि–रेकर्डिङ मिक्सिङ, रथाकोरन टोङ्नुनको डाइलग एडिटिङ तथा फोली र निपान स्टुडियोको भिजुअल इफेक्ट्स रहेको छ । फिल्मको सम्पादन निर्देशक डीडी किन्लेले गरेका हुन् ।

 

 

Copyright © 2012 - 2026 | All Right Reserved.