
काठमाडौं । अभिनेता पल शाहको निर्माणमा बन्न लागेको फिल्म ‘यानीमाया’को छायांकन सुरु भएको छ। निर्माण पक्षका अनुसार फिल्मको छायांकन ३५ दिनमा सकिनेछ।
गागलफेदीस्थित फिल्म स्टुडियोमा छायांकन सुरु गर्नुअघि शुभसाइत समारोह आयोजना गरिएको थियो। फिल्मको टिमले पूजाआजा गर्दै शुभसाइत गरेको हो।
ओम प्रतिकको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा पल शाह, अञ्जना मगर, शिशिर वाङ्देल, गजित विष्ट, लोकेन्द्र लेखक, अंकित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी र नारायणी खत्रीलगायत कलाकारको अभिनय रहनेछ।
फिल्ममा शान्न अधिकारी र मोनिका भण्डारी बाल कलाकारका रूपमा छन्। चन्द्रज्योति आले र पल शाहको लगानीमा निर्माण हुने फिल्ममा नवराज उप्रेतीको डीओपी, कुमार महर्जनको एक्सन निर्देशन, गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन तथा भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ।
विशाल कार्कीले निर्माण व्यवस्थापन गर्ने फिल्ममा रेनिश फागोको कलर सम्पादन, राजु लामा र सञ्जु ढकालको मेकअप तथा हेयर र आशिष पौडेलको पोशाक डिजाइन रहनेछ।
सामाजिक प्रेमकथामा आधारित फिल्म फागुन ७ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ। फिल्मको छायांकन काठमाडौंमा १० दिन गरिनेछ। त्यसपछि निर्माण टिम पर्वत जानेछ।
अभिनेता पल शाहले फिल्म निर्माणमा लाग्दा आफूलाई छुट्टै अनुभूति भएको बताए। उनले दर्शकमाझ उत्कृष्ट फिल्म पस्कने प्रयास गर्ने बताएका छन्।


