साउन २९ गतेदेखि हलमा आउँदै ‘लज्जावती’, प्रेम सम्बन्धको उतारचढावको कथा


काठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा बनेको फिल्म ‘लज्जावती’ यही साउन २९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । प्रेम कथामा आधारित फिल्मले प्रेम सम्बन्धमा आउने उतारचढाव र संघर्षलाई कथाको केन्द्रमा राखेको छ ।

यसअघि ‘पाठशाला’, ‘लाटी’, ‘वृन्दावन’, ‘वीरंगना’, ‘डोली’, ‘गुड फ्रेण्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’ र ‘सिटामोल’ लगायत सामाजिक कथामा आधारित फिल्म निर्देशन गरेका सानेले यसपटक प्रेम कथालाई फरक शैलीमा प्रस्तुत गरेका छन् ।

निर्देशक सानेका अनुसार फिल्मको कथा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र मेनुका माझीले निर्वाह गरेका चार पात्रको वरिपरि घुमेको छ । कलाकारका पात्रकै नामबाट फिल्मको शीर्षक ‘लज्जावती’ राखिएको उनले बताएका छन् ।

फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र मेनुका माझी मुख्य भूमिकामा छन् । विनोद श्रेष्ठ, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, दीपक थापा र काजल भुजेललगायत कलाकारको पनि अभिनय छ ।

मुकुन भुसालबाहेक अधिकांश कलाकारका लागि ‘लज्जावती’ मुख्य भूमिकामा काम गरेको पहिलो फिल्म हो । नयाँ कलाकार र नयाँ टिमका साथ प्रेम कथालाई फरक शैलीमा प्रस्तुत गरिएको निर्देशक सानेको भनाइ छ ।

फिल्मका पोस्टर, टिजर तथा ट्रेलर सार्वजनिक भइसकेका छन् । ‘दिलको मोटर’ र ‘मलाई पिर परेको’ बोलका गीतले पनि दर्शकको ध्यान खिचिरहेका छन् । सार्वजनिक प्रचार सामग्रीमा कलाकारको अभिनय र कथावस्तुले फिल्मप्रति दर्शकको चासो बढाएको निर्माण पक्षको दाबी छ ।

प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिम प्रचारमा व्यस्त छ । कलाकारहरू मिडियादेखि विभिन्न विद्यालय तथा कमेडी शोमा पुगेर फिल्म र आफूले निर्वाह गरेको पात्रबारे जानकारी दिइरहेका छन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता मुकुन भुसालले ‘लज्जावती’ नेपालीपन बोकेको प्रेम कथा भएको बताए । नेपाली समाजकै प्रेम कथामा आधारित भएकाले फिल्म धेरै नेपालीको जीवनसँग जोडिन सक्ने उनको भनाइ छ ।

“यो मेरो पहिलो लभस्टोरी कथा हो । यसअघि अन्य कथामा नै अभिनय गरिरहेको थिएँ । त्यसैले पनि फिल्मप्रति उत्साहित छु,” उनले भने ।

फिल्ममा मुकुन इ–रिक्सा चालकको भूमिकामा देखिएका छन् । रिक्सा चलाएर दैनिकी गुजार्ने क्रममा उनी होटल साउनीसँग नजिकिएको ट्रेलरमा देखिन्छ । मुकुनका अनुसार फिल्मको कथा पनि यही सम्बन्धबाट अघि बढ्छ ।

अर्का कलाकार श्रीकृष्ण निरौला फिल्ममा पागलप्रेमीको भूमिकामा छन् । टिजर तथा ट्रेलरमा आफ्नो चरित्र देखिएपछि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको उनले बताए ।

“मेरो चरित्रलाई धेरै शुभचिन्तकले मन पराइदिनुभएको छ । त्यसैले फिल्मप्रति निकै आशावादी छु,” उनले भने ।

उनका अनुसार पहिलोपटक प्रेममा परेको व्यक्तिले प्रेममा पाउने पीडा र उतारचढाव कसरी सामना गर्छ भन्ने कुरा उनको पात्रमार्फत देखाइएको छ । प्रेम कथामा आधारित ‘लज्जावती’ले दर्शकलाई साँचो प्रेमको अर्थ बुझाउने उनको विश्वास छ ।

श्रीकृष्णको यो दोस्रो फिल्म हो । यसअघि उनले ‘सिटामोल’मा सहायक भूमिकामा अभिनय गरेका थिए ।

जानुका विश्वकर्मा र मेनुका माझी पनि पहिलोपटक मुख्य भूमिकामा काम गर्न पाउँदा उत्साहित छन् । दुवै कलाकार फिल्ममा क्रमशः मुकुन र श्रीकृष्णको प्रेमिकाको भूमिकामा देखिएका छन् । जानुका भट्टी साउनीको भूमिकामा छिन् भने उनी मुकुनको जोडीका रूपमा देखिएकी छन् ।

फिल्ममा लगानी गरेका निर्माता कमलप्रसाद शर्माले कथा मन परेकाले लगानी गरेको बताए । सार्वजनिक प्रचार सामग्रीमा आएको सकारात्मक प्रतिक्रिया र कथावस्तुलाई हेर्दा लगानी उठाउन सक्नेमा आफू ढुक्क रहेको उनको भनाइ छ ।

निर्माता शर्माका अनुसार फिल्म करिब दुई करोड रुपैयाँको लगानीमा निर्माण भएको हो ।

आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन् । कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता तथा दिनेश बुढाथोकी कार्यकारी निर्माता हुन् ।

फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् भने द्वन्द्व निर्देशन देव महर्जनको छ । दिव्यराज सुवेदीको छायांकन रहेको फिल्मलाई कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ ।

Copyright © 2012 - 2026 | All Right Reserved.