
काठमाडौं । निर्देशक सौरभ चौधरीले नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’का लागि अभिनेता दयाहाङ राईलाई मुख्य भूमिकामा अनुबन्ध गरेका छन्। यसअघि अभिनेता सौगात मल्ललाई अनुबन्ध गरिसकेको निर्माण टिमले दयाहाङलाई पनि फिल्ममा भित्र्याएको हो।
‘लुट’पछि चर्चामा आएका दयाहाङ र सौगात लामो समयपछि एउटै फिल्ममा देखिन लागेका हुन्। यी दुई कलाकारको जोडीलाई दर्शकले यसअघि पनि रुचाएका कारण ‘द राइज अफ साम्राज्य’प्रति चासो बढ्ने निर्माण पक्षको अपेक्षा छ।
“हामीले हालसम्म सौगात र दयाहाङलाई हाम्रो फिल्ममा भित्र्याएका छौँ। यी दुई नामसँगै हामीसँग अझै सरप्राइजिङ नाम बाँकी नै छ,” निर्देशक चौधरीले भने, “हामी यसपटक फिल्मलाई राम्रो र प्रतीक्षित बनाउन कुनै पनि कसर बाँकी राख्ने छैनौँ। दर्शकलाई सकेसम्म राम्रो र स्तरीय फिल्म दिनु हाम्रो उद्देश्य हो।”
दयाहाङसँग निर्देशक चौधरीले पहिलोपटक सहकार्य गर्न लागेका हुन्। फिल्ममा दयाहाङलाई फरक चरित्रमा प्रस्तुत गरिने निर्देशक चौधरीले बताए।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म मल्टीस्टारर हुने निर्माण पक्षले जनाएको छ। उपन्यासकार बुद्धिसागरले फिल्मको कथा तथा पटकथा लेखेका छन्। निर्देशक चौधरीका अनुसार फिल्म ‘एपिक एक्सन ड्रामा’ हुनेछ।
फिल्मलाई ठूलो क्यानभासमा निर्माण गर्ने तयारी रहेको निर्देशक चौधरीले बताए। निर्माण पक्षका अनुसार यो नेपाली फिल्मकै ठूलो स्केलको एक्सन फिल्म हुनेछ।
फिल्मको छायांकन आगामी भदौको पहिलो साताबाट सुरु हुनेछ। ७० दिनको छायांकन तालिका रहेको फिल्मको अधिकांश छायांकन पूर्वी नेपालमा गरिनेछ।
फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन्। विश्वास बस्नेत (बेन) को–प्रोड्युसर तथा शंकर पाण्डे कार्यकारी निर्माता छन्।
मानकृष्ण महर्जन डीओपी रहेको फिल्मको एक्सन निर्देशन श्री श्रेष्ठले गर्नेछन्। ओएसआर डिजिटल डिजिटल पार्टनर, टौवा स्टुडियो पब्लिसिटी पार्टनर तथा डिसीएन वितरक रहेको निर्माण पक्षले जनाएको छ।


