
काठमाडौं । चलचित्र ‘महाराजधिराज’का मुख्य कलाकार पुष्प खड्काको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक भएको छ । चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले सामाजिक सञ्जालमार्फत पुष्पको नयाँ लुक सार्वजनिक गरेका हुन् ।
विराजले ‘महाराजधिराज’का लागि पुष्पले कठोर मेहनत गरेर शरीर बनाएको उल्लेख गरेका छन् । उनले चलचित्रका लागि पुष्पले गरेको त्याग, तपस्या र संघर्षको प्रशंसा समेत गरेका छन् ।
“आज गर्वका साथ भन्न सक्छु, कलाकारमा हुनुपर्ने गुण भनेकै ठूलो त्याग, तपस्या र संघर्ष हो,” विराजले फेसबुकमा लेखेका छन्, “‘महाराजधिराज’ चलचित्रका लागि गरेको त्याग, तपस्या र संघर्ष साँच्चिकै प्रशंसनीय छ ।”
उनले ‘महाराजधिराज’ प्रदर्शनपछि पुष्पले नेपाली सिनेमा क्षेत्रमा लामो समयसम्म पछाडि फर्केर हेर्नुनपर्ने दाबी समेत गरेका छन् । “चलचित्र ‘महाराजधिराज’ प्रदर्शनपछि साँच्चिकै पीके (पुष्प खड्का) ले नेपाली चलचित्र उद्योगमा १५ वर्ष फर्केर हेर्नुपर्ने अवस्था आउँदैन,” उनले लेखेका छन् ।
‘महाराजधिराज’मा अनुबन्ध हुने क्रममा पुष्पले हात काटेर रगतको औँठाछाप लगाएको प्रसंगले पनि यसअघि चर्चा पाएको थियो । सोही समयदेखि चलचित्र र पुष्पको भूमिकालाई लिएर दर्शकमाझ चासो बढेको छ ।
हाल चलचित्रको काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको छ । सुनसरीको श्रीलंका टापुबाट छायांकन सुरु गरिएको ‘महाराजधिराज’को भक्तपुरमा समेत छायांकन भइसकेको छ । चलचित्रको छायांकन सेड्युल ७० दिनको रहेको निर्माण पक्षले जनाएको छ ।
परिच्छेद सेनको निर्देशनमा तयार भइरहेको चलचित्रलाई नबराज थापाले खिचिरहेका छन् । निर्देशक सेनका अनुसार ‘महाराजधिराज’ सोसल पिरियड ड्रामा हो । चलचित्रको कथा तथा पटकथा समेत सेन स्वयंले लेखेका हुन् ।
चलचित्रमा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, सुशील सिटौला, पूजना प्रधान, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डी.सी. र गजित विष्टलगायत कलाकारको अभिनय रहनेछ ।
त्यस्तै, हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी र कमल देवकोटालगायत कलाकार पनि चलचित्रमा देखिनेछन् ।
करिब ८० जना कलाकारको अभिनय रहने चलचित्रमा कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ र पूजा बुढालगायत कलाकारको पनि अभिनय रहनेछ ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रका निर्माता रवि खड्का र टोपेन्द्र विष्ट हुन् ।


