
काठमाडौं । नेपाली चलचित्रको इतिहाससँग जोडिएका पुराना तथा ऐतिहासिक चलचित्रलाई पुनः दर्शकमाझ ल्याउने उद्देश्यसहित चलचित्र विकास बोर्डले ‘ओल्ड इज गोल्ड’ कार्यक्रमको शुभारम्भ गरेको छ। नेपालको पहिलो नेपाली चलचित्र ‘आमा’का चार जना कलाकारको विशेष उपस्थितिमा कार्यक्रम सुरु गरिएको हो।
कार्यक्रममा ‘आमा’का कलाकार भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठ सहभागी थिए। उनीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा दर्शकको उत्साहजनक सहभागिता देखिएको थियो। हलका सबै सिट भरिएपछि कतिपय दर्शकले उभिएरै चलचित्र हेरेका थिए।
कार्यक्रमको प्रारम्भमा हास्यकलाकार हरिवंश आचार्य र चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष कृष्ण मल्लले चारै कलाकारलाई माला लगाएर स्वागत गरेका थिए। त्यसपछि भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै ‘ओल्ड इज गोल्ड’को उद्घाटन गरे।
चलचित्र प्रदर्शनअघि बोर्ड अध्यक्ष दिनेश डीसीले चारै कलाकारसँग ‘आमा’ निर्माण हुँदाको समय, चलचित्रमा काम गर्दाका अनुभव तथा नेपाली चलचित्रको प्रारम्भिक यात्रासँग जोडिएका विभिन्न स्मरणबारे संवाद गरेका थिए।
संवादका क्रममा कलाकारहरूले तत्कालीन समयमा चलचित्र निर्माण गर्दाको अवस्था, प्रविधिको सीमितता, काम गर्ने शैली तथा ‘आमा’सँग जोडिएका आफ्ना अविस्मरणीय अनुभव दर्शकमाझ साझा गरेका थिए। त्यसपछि चारै कलाकारको उपस्थितिमै ‘आमा’ प्रदर्शन गरिएको थियो।
दशकौँअघि आफूहरूले अभिनय गरेको चलचित्र पुनः ठूलो पर्दामा हेर्न चारै कलाकार एकसाथ उपस्थित हुँदा कार्यक्रम भावुक र स्मरणीय बनेको थियो। पुरानो नेपाली चलचित्रप्रति नयाँ पुस्तासहित विभिन्न उमेर समूहका दर्शकको उत्साहपूर्ण सहभागिताले नेपाली सिनेमाको इतिहासप्रतिको चासो अझै जीवित रहेको देखाएको छ।
कार्यक्रममा बोर्ड अध्यक्ष डीसीले ‘ओल्ड इज गोल्ड’लाई नियमित कार्यक्रमका रूपमा अघि बढाउँदै हरेक महिना एउटा ऐतिहासिक नेपाली चलचित्र विशेष प्रदर्शन गर्ने घोषणा गरे।
उनका अनुसार यसरी प्रदर्शन गरिने चलचित्रबाट प्राप्त रकम चलचित्रकर्मी कल्याणकारी कोषमा जम्मा गरिनेछ।
पुराना तथा ऐतिहासिक नेपाली चलचित्रलाई नयाँ पुस्तासम्म पुर्याउने, ती चलचित्रमा योगदान पुर्याएका कलाकार तथा प्राविधिकलाई सम्मान गर्ने र नेपाली चलचित्रको इतिहासको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले ‘ओल्ड इज गोल्ड’ कार्यक्रमलाई निरन्तरता दिइने बोर्डले जनाएको छ।
नेपालको पहिलो नेपाली चलचित्र ‘आमा’का कलाकारकै उपस्थितिबाट सुरु भएको ‘ओल्ड इज गोल्ड’को पहिलो कार्यक्रममा देखिएको उल्लेख्य दर्शक सहभागिताले पुराना नेपाली चलचित्रप्रतिको दर्शकको मोह र चासो अझै उत्तिकै बलियो रहेको सन्देश दिएको छ।


