‘मन बिनाको धन–२’मा मदनकृष्णको इन्ट्री, अभिनयसँगै गीत पनि गाउने


काठमाडौं । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्म ‘मन बिनाको धन–२’को कलाकार टोली थप बलियो बनेको छ। निर्माण टिमले मंगलबार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, यमन श्रेष्ठ, राजाराम पौडेल, रश्मिला तामाङ र निर्मल शर्मालाई औपचारिक रूपमा अनुबन्ध गरेको छ।

फिल्मको विशेष आकर्षणका रूपमा मदनकृष्ण श्रेष्ठले अभिनयसँगै एउटा गीतमा स्वर पनि दिने भएका छन्। निर्माण पक्षका अनुसार मंगलबार नै उनको स्वरमा फिल्मको एक गीत रेकर्ड गरिएको छ।

यसअघि नै फिल्मका लागि सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा र महेश त्रिपाठी मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। साथै किरण केसी, प्रकाश घिमिरे र शंकर श्रेष्ठलगायत कलाकारको पनि अभिनय रहनेछ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मको कथा निर्देशक टंक बुढाथोकी स्वयंले लेखेका हुन्। पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन् भने गीत–संगीतको जिम्मेवारी पनि बुढाथोकीकै रहनेछ। फिल्मकी निर्माता विष्णुमाया मैनाली बुढाथोकी हुन्।

निर्माण टिमका अनुसार फिल्मको छायांकन भदौको पहिलो सातादेखि सुरु हुनेछ। काठमाडौं उपत्यकासँगै मुस्ताङमा पनि फिल्मको मुख्य छायांकन गरिने तयारी छ।

फिल्ममा नरेन्द्र मैनालीको छायांकन, कविराज गहतराज, रामजी लामिछाने र गम्भीर बिष्टको कोरियोग्राफी तथा शुक्रराज शाहको द्वन्द्व निर्देशन रहनेछ। नवराज शर्मा मुख्य सहायक निर्देशक र प्रनाप सुवेदी (भोला) निर्माण व्यवस्थापकका रूपमा रहेका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.