‘तीन तीघ्रे क्या बिग्रे’का प्राविधिकले हप्तामा एक दिन बिदा पाउने


काठमाडौं । नेपाली फिल्म क्षेत्रमा प्राविधिकहरूको श्रम अधिकार र नियमित बिदाको विषय बेला–बेलामा उठ्ने गरे पनि व्यवहारमा यसको कार्यान्वयन भने कमै हुने गरेको छ। छायांकनको व्यस्त तालिका, लामो कार्यसमय र निरन्तरको कामका कारण प्राविधिकहरूले पर्याप्त विश्राम पाउने अवसर कम हुने गरेको छ।

यही अवस्थालाई ध्यानमा राख्दै रघुजी फिल्म्सको ब्यानरमा निर्माणाधीन फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ले प्राविधिकहरूलाई हप्तामा एक दिन अनिवार्य बिदा दिने निर्णय गरेको छ।
हाल काठमाडौंमा छायांकन भइरहेको फिल्मको ३० देखि ४० दिनसम्मको तालिकाबीच प्राविधिकहरूले शारीरिक तथा मानसिक रूपमा विश्राम पाउन सकून् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको निर्माण पक्षले जनाएको छ।

निर्माता रघुनाथ सापकोटाका अनुसार प्राविधिकहरू लामो समयसम्म लगातार छायांकनमा व्यस्त रहने हुँदा परिवारसँग समय बिताउने अवसरसमेत कम हुन्छ। “प्राविधिकहरू नै फिल्म निर्माणका आधारस्तम्भ हुन्। उनीहरूको स्वास्थ्य, आराम र पारिवारिक जीवनलाई सम्मान गर्दै हप्तामा एक दिन बिदा दिने निर्णय गरेका हौं,” उनले भने।

फिल्मका लेखक तथा निर्देशक अमरदीप सापकोटाले पनि स्वस्थ कार्य वातावरणले सिर्जनात्मक काममा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। उनका अनुसार पर्याप्त विश्रामले प्राविधिकहरूको कार्यक्षमता र कामको गुणस्तर दुवैमा सुधार ल्याउनेछ।

नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)का पूर्व उपाध्यक्ष गणेश सापकोटाले पनि प्राविधिकलाई नियमित बिदा उपलब्ध गराउनु समयको आवश्यकता भएको बताए। उनका अनुसार यो अभ्यास एउटा निर्माण कम्पनीमा मात्र सीमित नरही सम्पूर्ण नेपाली फिल्म उद्योगले अपनाउनुपर्ने विषय हो। उनले लामो समयदेखि उठ्दै आएको यस एजेन्डालाई व्यवहारमा उतार्ने प्रयासको स्वागत गर्दै अन्य निर्माण कम्पनीलाई पनि यस्तो अभ्यास अनुसरण गर्न आग्रह गरे।

निर्माण पक्षका अनुसार प्राविधिकहरूको श्रम अधिकार, कार्य–जीवन सन्तुलन र स्वस्थ कार्य वातावरणलाई प्राथमिकता दिने उद्देश्यले गरिएको यो निर्णय नेपाली फिल्म उद्योगका लागि सकारात्मक अभ्यास बन्न सक्ने अपेक्षा गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.