
काठमाडौं । आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लज्जावती’को ट्रेलर सार्वजनिक गरिएको छ। साउन १५ अर्थात् खिर खाने दिनको अवसर पारेर निर्माण टिमले काठमाडौंमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरमा प्रेम, विश्वासघात, विछोड र त्यसपछिको संघर्षलाई केन्द्रमा राखिएको छ। निर्देशकले दुई प्रेमिल जोडीको कथामार्फत जीवनका उतारचढाव र सामाजिक यथार्थलाई प्रस्तुत गर्ने प्रयास गरेका छन्।
फिल्ममा मुकुन भुसाल र जानुका विश्वकर्मा एक जोडीका रूपमा देखिएका छन् भने श्रीकृष्ण निरौला र मेनुका माझी अर्को प्रेमिल जोडीको भूमिकामा छन्। ट्रेलरले सुरुमा उनीहरूबीचको आत्मीय सम्बन्ध र पारिवारिक निकटता देखाए पनि समयसँगै अभाव, सामाजिक दबाब र विभिन्न परिस्थितिका कारण सम्बन्धमा आउने जटिलता चित्रण गरेको छ।
निर्देशक राजबहादुर सानेका अनुसार फिल्मले प्रेममा आउने उतारचढाव, सम्बन्धको परीक्षा र संघर्षको कथा प्रस्तुत गर्छ।
फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलको अभिनय रहेको छ।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन्। कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको फिल्मका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन्।
फिल्मको छायांकन दिव्यराज सुवेदीले गरेका छन् भने सम्पादन तारा थापा ‘किम्भे’ र द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ। फिल्मलाई कुबेर सिने डिस्ट्रिब्युसनले देशभर वितरण गर्नेछ।


