
काठमाडौं । नेपाल मिक्स बक्सिङ एसोसिएसनको आयोजनामा तथा बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा ‘थर्ड वर्ल्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’ (NMBA) बिहिबारदेखि सुरु भएको छ । मितेरी स्पोट्स क्लबमा सुरु च्याम्पियनसिप साउन शुक्रबारसम्म चल्नेछ । उद्घाटन कार्यक्रम गर्दै बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले नगरले खेल र खेलाडीको विकासका लागी कुनै कसर बाँकी नराखेको बताए । उनले भने, “गोल्ड मेडल प्राप्त गर्ने खेलाडीलाई नगरपालिकाले सम्मान गरेर हौसला प्रदान गरेका छौ । खेलकुदको विकासको लागी बजेट ब्यवस्थापन गर्दै आएका छौं ।”
कार्यक्रममा नगर उपप्रमुख अनिता लामाले बुढानीलकण्ठमा अन्तर्राष्ट्रिय स्तरको खेलको आयोजना गर्न पाउदा खुशी ब्यक्त गर्दै बुढानीलकण्ठ हरेक विधाको खेलमा अघि रहेको दाबी गरिन । उद्घाटन कार्यक्रम आयोजक टिमका अध्यक्ष मोहन खड्काको अध्यक्षतामा भएको थियो । उनले देश विदेशबाट प्रतिस्पर्धा लागी सहभागी खेलाडीलाई स्वागत गरे । कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका खेलकुद विकास बोर्डका अध्यक्ष सुमन तामाङ लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा नेपालसँगै भारत, बङ्गलादेश, श्रीलङ्का, अजरबैजान लगायतका ८ देशका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताले नेपालमा मिक्स बक्सिङ खेलको विकास, युवा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव दिलाउने तथा खेल पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने आयोजकको अपेक्षा छ।
नेपाल मिक्स बक्सिङ एसोसिएसनले यसअघि एसियन मिक्स बक्सिङ च्याम्पियनसिप समेत सफलतापूर्वक आयोजना गरिसकेको छ। च्याम्पियनसिप आयोजक टिममा उपाध्यक्ष बिष्णु पोखरेल, सचिव सीता श्रेस्ठ, कोषाध्यक्ष भक्त बहादुर राना मगर, सदस्यहरु सरोज गिरी, धनलाल महर्जन र बसन्त पोखरेल छन् । नवराज भन्डारी र महेश ख्वान्जु प्रमुख सल्लाहकार छन्।


