उपन्यासमा आधारित ‘पञ्चमी’को निर्माण घोषणा


काठमाडौं । चलचित्र ‘पञ्चमी’ को औपचारिक घोषणा गरिएको छ। यससँगै थिम पोस्टर पनि सार्वजनिक गरिएको छ।

चलचित्रमार्फत सौगात बस्नेतले निर्देशनमा डेब्यु गर्न लागेका हुन्। यसअघि उनले निर्देशक दीपेन्द्र के. खनाललगायतसँग मुख्य सहायक निर्देशक (चिफ एडी) र कार्यकारी निर्माताका रूपमा काम गरिसकेका छन्।

सार्वजनिक गरिएको थिम पोस्टरमा पुरानो टाइपराइटरमा ‘पञ्चमी’ लेखिएको छ। पोस्टरमा त्रिशूल, दुई नाग, शीर्षकलाई घेरेका पाँच घेरा, नाग अंकित लकेट र शुक्ल पक्षको अर्धचन्द्र पनि समावेश छन्। निर्देशक बस्नेतका अनुसार पोस्टरमा प्रयोग गरिएका यी प्रतीकहरूको सम्बन्ध चलचित्रका पात्र र कथासँग जोडिएको छ, जसको अर्थ फिल्म प्रदर्शनपछि मात्र खुल्नेछ।

पोस्टरमा ‘I Hate Whoever Comes Late’ भन्ने वाक्यांश पनि समावेश गरिएको छ। यसको सन्दर्भ भने निर्माण टिमले खुलाएको छैन।

निर्देशक बस्नेतले चलचित्र साइकोलोजिकल मिस्ट्री थ्रिलर विधामा निर्माण हुन लागेको बताए। उनका अनुसार पोस्टरमा प्रयोग गरिएका डिजाइन र प्रतीकहरू चलचित्रको कथासँग सम्बन्धित छन्।

‘पञ्चमी’ मौलिक कथा नभई एउटा उपन्यासमा आधारित चलचित्र हो। तर कुन उपन्यास र कुन लेखकको कृतिलाई आधार बनाइएको हो भन्ने जानकारी निर्माण टिमले सार्वजनिक गरेको छैन।

चलचित्रका कलाकार, पटकथा लेखक तथा अन्य प्राविधिक टोलीबारे पनि हालसम्म जानकारी दिइएको छैन। निर्माण टिमका अनुसार ती विवरण क्रमशः सार्वजनिक गरिनेछ।

Copyright © 2012 - 2026 | All Right Reserved.