सामाजिक परिवर्तनको सन्देश बोकेको ‘हली’को विशेष प्रदर्शन, दर्शकबाट उत्कृष्ट प्रतिक्रिया


काठमाडौं । आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने तयारीमा रहेको नेपाली फिल्म ‘हली’ को काठमाडौंस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा विशेष प्रदर्शन सम्पन्न भएको छ।

हल भरिभराउ दर्शकको उपस्थितिमा आयोजित उक्त विशेष प्रदर्शनमा फिल्मले दर्शक तथा फिल्मकर्मीबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको छ।

विशेष प्रदर्शनपछि अधिकांश दर्शक तथा फिल्मकर्मीले छाउपडी प्रथाजस्तो संवेदनशील विषयलाई सशक्त कथावस्तुमार्फत पर्दामा उतारेको भन्दै निर्माण पक्षलाई बधाई तथा शुभकामना दिएका छन्। दर्शकबाट प्राप्त अप्रत्याशित माया र सकारात्मक प्रतिक्रियाले निर्देशक ओम प्रतीक तथा निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठ निकै उत्साहित देखिएका छन्।

छाउपडी प्रथाका कारण बालिकाहरूले भोग्नुपरेको सामाजिक पीडा र दुर्व्यवहारलाई मुख्य विषयवस्तु बनाइएको यस फिल्म को ट्रेलर, प्रमोसनल गीत र पोस्टरले यसअघि नै दर्शकमाझ राम्रो चर्चा कमाइसकेका छन्।

सामाजिक तथा राष्ट्रिय परिवर्तनका लागि एक जना ‘हली’ नै पर्याप्त हुन्छ भन्ने सशक्त सन्देश प्रवाह गर्ने यस फिल्म को कथा तथा पटकथा निर्देशक ओम प्रतीक स्वयंले लेखेका हुन्।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्स को सहकार्यमा निर्माण भएको यस फिल्म का कार्यकारी निर्माता अर्जुन भुसाल, सह-निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्।

व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठद्वारा निर्मित यस फिल्म मा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको मुख्य अभिनय रहेको छ।

फिल्म को विशेष आकर्षणका रूपमा रहेको प्रमोसनल गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माजस्ता चर्चित कलाकारहरूको विशेष नृत्य प्रस्तुत गरिएको छ।

राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको यस फिल्म मा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ।

निर्माता जश्मिन श्रेष्ठको शब्द, बाबुल गिरीको संगीत तथा गायक बाबुल गिरी र गायिका शान्ति श्री परियारको स्वर रहेको गीत पनि फिल्म मा समावेश गरिएको छ। उक्त गीतको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले संयुक्त रूपमा गरेका हुन्।

फिल्म को वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ भने यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.