
काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी कशिश सुब्बा लिम्बुले मिस नेपालको यात्रा आफ्नो जीवनकै सबैभन्दा परिवर्तनकारी अनुभव बनेको बताएकी छन्। ग्रान्ड फिनाले नजिकिँदै गर्दा उनले यस यात्राले आफूमा आत्मविश्वास बढाउनुका साथै चुनौती सामना गर्ने क्षमता र परिपक्वता विकास गरेको उल्लेख गरेकी छन्।
उनका अनुसार मिस नेपालको मञ्चले आफूलाई चिन्ने र आफ्नै क्षमतामाथि विश्वास गर्ने अवसर दिएको छ। “मिस नेपालको स्टेजले आफूप्रतिको आत्मविश्वास बढाएको छ। म केही गर्न सक्छु भन्ने विश्वास यही यात्राले दिएको हो,” उनले भनेकी छन्।
फेसन मोडल, फेसन स्टाइलिस्ट र फेसन डिजाइनर बन्ने लक्ष्य लिएकी कशिशले प्रतियोगिताबाट प्राप्त अनुभव आफ्नो भविष्यका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरेकी छन्। प्रतियोगिताले व्यक्तित्व विकास, नेतृत्व क्षमता र जिम्मेवारीबोधलाई थप मजबुत बनाएको उनको भनाइ छ।
अगस्ट १ मा हुने ग्रान्ड फिनालेका लागि तयारी गरिरहेकी उनले आफूलाई साथ, समर्थन र मतदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै अन्तिम चरणसम्म साथ दिन आग्रह गरेकी छन्।


