मोडल डली बनिन ‘मिसेस नेपाल युनिभर्स २०२६


काठमाडौँ। मोडल डली गुरुङ याक्थुम्बा ‘पाँचौँ मिसेस नेपाल युनिभर्स–२०२६’ घोषित भएकी छन्। तेस्रो चरणको क्यान्सर समेत जित्न सफल सामाजिक अभियान्तको रुपमा उनी परिचित छिन् । अब उनले आगामी अक्टोबरमा आयोजना हुने ‘मिसेस युनिभर्स २०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्नेछिन्।

ललितपुरको झम्सिखेलमा सम्पन्न ‘क्राउन सेरेमोनी’मा उनलाई आधिकारिक रूपमा ताज पहिर्याइएको हो। लन्डन फेसन हाउसद्वारा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य र मिसेस नेपाल युनिभर्सकी राष्ट्रिय निर्देशक मनिषा डंगोल श्रेष्ठले संयुक्त रूपमा डलीलाई विजेताको ताज हस्तान्तरण गरेका थिए।

नेपाली विज्ञापन र फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय डली नेपालकै पहिलो टेलिभिजन भिडियो विज्ञापनमा देखिएकी भिजुअल मोडलका रूपमा परिचित छिन्। २०४० र २०५० को दशकमा उनले मोडलिङ क्षेत्रमा उल्लेखनीय योगदान दिएकी थिइन्। त्यस्तै, तेस्रो चरणको कोलोन क्यान्सरलाई सफलतापूर्वक पराजित गर्दै पुनः सक्रिय जीवनमा फर्किएकी उनी धेरै महिलाका लागि प्रेरणाको स्रोत बनेकी छन्।

सम्मान ग्रहणपछि डलीले आफ्नो सफलतामा परिवारको महत्वपूर्ण साथ रहेको बताइन्। श्रीमान् निराकर याक्थुम्बा, छोराछोरी तथा सासूआमा इन्दिरा याक्थुम्बाको प्रेरणाले आफू प्रतियोगितामा सहभागी भएको उल्लेख गर्दै उनले विश्वमञ्चमा नेपाली महिलाको क्षमता, आत्मविश्वास र पहिचानलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरिन्। क्यान्सरलाई जितेर पाएको दोस्रो जीवनलाई अर्थपूर्ण बनाउने अवसरका रूपमा उनले यो यात्रालाई लिएको पनि बताइन्।

कार्यक्रममा राष्ट्रिय निर्देशक मनिषा डंगोल श्रेष्ठले डलीको अनुभव, संघर्षशील व्यक्तित्व र आत्मविश्वासले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा नयाँ उचाइ दिलाउने विश्वास व्यक्त गरिन्। उनले कार्यक्रम सफल बनाउन साथ दिने सबै सहयोगी, सहभागी र शुभेच्छुकप्रति धन्यवाद ज्ञापन गर्दै मिसेस नेपाल युनिभर्सको अभियानलाई आगामी दिनमा अझ प्रभावकारी र सशक्त रूपमा अघि बढाइने बताइन्।

Copyright © 2012 - 2026 | All Right Reserved.