
काठमाडौं। आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘मास्टर्नी’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अभिनेत्री प्रियंका कार्कीलाई रहस्यमयी अवतारमा प्रस्तुत गरिएको छ, जसले चलचित्रप्रति दर्शकको उत्सुकता बढाएको छ।
पोस्टरमा प्रियंका बाथटबमा शान्त मुद्रामा सुतेकी देखिन्छिन्। बाहिरबाट उनी पूर्णतः संयमित र निश्चल देखिए पनि उनका आँखाले गहिरो रहस्य लुकाइरहेको आभास दिन्छन्। पोस्टरले सतहमा शान्त देखिने पात्रभित्र अनेकौं रहस्य र मनोवैज्ञानिक द्वन्द्व लुकेको संकेत गर्छ।
बाथटब वरिपरि रहेको अँध्यारो पानीमा पौडिरहेका सुनौला माछाले पनि पोस्टरलाई थप प्रतीकात्मक बनाएका छन्। ती माछाले शान्त वातावरणभित्र असामान्य घटना भइरहेको संकेत दिन्छन् भने पानीलाई सत्य वा अपराधका प्रमाण लुकाउने माध्यमका रूपमा पनि व्याख्या गर्न सकिन्छ। प्रियंकाको अनुहारमा डरभन्दा बढी आत्मविश्वास झल्किएको छ, जसले उनी साधारण पात्र नभई कुनै गहिरो योजनाको केन्द्रमा रहेको अनुभूति गराउँछ।
रोयल भीमसेनले डिजाइन गरेको यो पोस्टरले चलचित्रको सस्पेन्स र मनोवैज्ञानिक थ्रिलर पक्षलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ। चलचित्र आगामी भदौ ५ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की निर्माताको रूपमा रहेका यस चलचित्रको निर्देशन शुभेन्दु घोषले गरेका हुन्।
चलचित्रमा प्रियंका कार्कीसँगै आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रका कार्यकारी निर्माता सुरक्षा सिंह मल्होत्रा हुन् । चलचित्रको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य रहेको छ। युवराज इन्दोरियाको छायांकन रहेको चलचित्रलाई राजा सिंह सिदुले सम्पादन गरेका छन्।


