
काठमाडौं । अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ को फस्र्ट लुक सार्वजनिक गरिएको छ । असार १५ को अवसर पारेर निर्माण टिमले आगामी भदौ २६ गते प्रदर्शनमा आउने चलचित्रका तीन फरक शैलीका पोस्टर सार्वजनिक गर्दै प्रचारप्रसार औपचारिक रूपमा सुरु गरेको हो ।
सार्वजनिक पोस्टरहरूले चलचित्रको मूल कथावस्तु, पात्रहरूको जीवनयात्रा, पारिवारिक सम्बन्ध, संघर्ष र ग्रामीण परिवेशलाई कलात्मक ढंगले चित्रण गरेका छन्। पहिलो पोस्टरमा दयाहाङ राई र गौमाया गुरुङ गाउँको परिवेशमा प्रस्तुत छन् । गौमायाको काखमा रहेको पाठो र दयाहाङको भावपूर्ण अभिव्यक्तिले सरल ग्रामीण जीवन, आत्मीयता र मानवीय संवेदनालाई संकेत गर्छ ।
दोस्रो पोस्टरमा दुवै कलाकार हात समातेर झरनाको बाटो हुँदै यात्रा गरिरहेका देखिन्छन् । डोको बोकेकी गौमाया र भारीसहित अघि बढिरहेका दयाहाङको दृश्यले संघर्ष, प्रेम, सहयात्रा र जिम्मेवारीपूर्ण जीवनको अनुभूति गराउँछ । प्राकृतिक सौन्दर्यबीचको उक्त दृश्यले चलचित्रको भावनात्मक पक्षलाई थप प्रभावशाली बनाएको छ ।

तेस्रो पोस्टरमा दयाहाङ सैनिक पोसाकमा प्रस्तुत छन् भने गौमाया परम्परागत गुरुङ पहिरनमा देखिएकी छन्। पृष्ठभूमिमा रहेका युवा पात्रहरूको उपस्थितिले प्रेम, प्रतीक्षा, परिवार र पुस्तान्तरणको कथालाई संकेत गरेको छ । समग्रमा पोस्टरहरूले ‘पेन्सन पट्टा’ पूर्वलाहुरेको जीवनमा मात्र सीमित नभई नेपाली समाज, पारिवारिक सम्बन्ध र मानवीय मूल्यको गहिरो कथा बोकेको चलचित्र रहेको आभास गराउँछन् ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रले आशा, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राख्दै जीवनमा लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने प्रयासको कथा प्रस्तुत गर्ने निर्देशक गुरुङले बताएका छन् ।
चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधरलगायत कलाकारको अभिनय रहेको छ । कथा तथा निर्देशन माओत्से गुरुङकै रहेको यस चलचित्रको छायांकन सुशन प्रजापति, सम्पादन केर डी. कोइच लिनुच, कलरिस्ट राजेन्द्र मोक्तान, साउन्ड डिजाइन उत्तम न्यौपाने, सिंक साउन्ड नवीन श्रेष्ठ, भिएफएक्स मनोज श्रेष्ठ र कला निर्देशन राजु याक्चाले गरेका छन् ।
मिन कोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ) र सपना गुरुङ निर्माता रहेको चलचित्रमा डी.बी. गुरुङ प्रोडक्सन म्यानेजर छन्। हर्क साउद, शिव बराइली र सूरज तमुका शब्द रहेको गीतमा मनोज थापा मगर, शिव बराइली र सूरज तमुको संगीत सुन्न पाइनेछ । चलचित्रको नेपाल वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ । चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।
निर्माण पक्षका अनुसार ‘पेन्सन पट्टा’ को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार पनि उत्साहजनक रूपमा विभिन्न मुलुकमा बिक्री भइसकेको छ । हालसम्म हङकङ, अष्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको छ भने अन्य देशसँग पनि प्रदर्शनबारे छलफल भइरहेको निर्देशक माओत्से गुरुङले जानकारी दिएका छन् । नेपाली डायस्पोराको उल्लेख्य उपस्थिति रहेका मुलुकहरूमा समेत चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण टिमले जनाएको छ ।
हरितालिका तीजको अवसर पारेर भदौ २६ गते देशभर प्रदर्शनमा आउने ‘पेन्सन पट्टा’ ले ग्रामीण जीवन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र मानवीय संवेदनालाई सशक्त रूपमा पर्दामा उतार्ने अपेक्षा गरिएको छ ।


