
काठमाडौं । जीवन सिंहको लेखन तथा निर्देशन रहेको चलचित्र ‘हन्टर’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी असोज ९ गते ‘सेप्टेम्बर २५’ बाट देशभरका सिनेमाघरमा प्रदर्शन हुने जानकारी दिएको हो ।
प्रदर्शन मितिसँगै सार्वजनिक गरिएको पोस्टरले चलचित्रको कथावस्तुबारे धेरै रोचक संकेतहरू दिएको छ । पोस्टरमा दुई मुख्य पात्रहरू अरुण क्षेत्री र प्रकाश शाहलाई आमनेसामने देखाइएको छ ।
प्रकाश शाहको आँखामा देखिने तीखो आक्रोश र अरुण क्षेत्रीको अनुहारमा झल्कने प्रतिशोधको भावले चलचित्रमा यी दुई पात्रबीच भीषण टक्कर हुने संकेत गर्छ ।
पोस्टरमा यो केवल सामान्य झगडा नभई एक-अर्कालाई सिध्याउने खेल अर्थात् ‘हन्टर’ र ‘सिकार’ बीचको लडाइँ भएको प्रस्ट्याउँछ ।
चलचित्रका लेखन तथा निर्देशक सिंहका अनुसार ‘हन्टर’ को कथा कुनै काल्पनिक संसारको नभई समाजकै वास्तविक पात्रहरूबाट प्रभावित भएर तयार पारिएको हो ।
‘हन्टर’ को निर्माणमा ट्राइडेन्ट कन्सेप्टको सहकार्य छ । ममता सिंह, गोविन्द राज र राज ए भट्ट निर्माता रहेको सिनेमाका सह-निर्माता मनिष चन्द, युना शाही, सन्तोष आस्ना पाल छन् ।
चलचित्रमा अरुण, प्रकाश र सुप्रज्ञाका अलावा गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकी, रुजा राउत, रोशनी दाहाल, गीता अधिकारी, सुरज भण्डारी, टेकराज शर्माल, लालबहादुर थापागायतको अभिनय रहेको छ ।
निर्देशक सिंहकै सम्पादन रहेको चलचित्रमा कृष्ण थापाको डीओपी, शुक्रराज शाहको द्वन्द्व निर्देशन, विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी छ । यो चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ ।


