‘गौँथली’ मा अरुण सिम्रनको नयाँ जोडी, साउन १ देखि दर्शकमाझ

अरुण र सिम्रनको यो पहिलो अनस्क्रिन सहकार्य भएकाले उनीहरूको केमेस्ट्रीलाई दर्शकले कस्तो प्रतिक्रिया दिनेछन् भन्ने विषय पनि चासोको केन्द्र बनेको छ।


काठमाडौं । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘गौँथली’ मार्फत दर्शकले नयाँ र आकर्षक अनस्क्रिन जोडीको रूपमा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्कालाई देख्न पाउने भएका छन्। निर्देशक डा. कपिल रिजालले पहिलो पटक यी दुई कलाकारलाई श्रीमान्–श्रीमतीको भूमिकामा प्रस्तुत गरेका छन्।

नेपाली चलचित्र क्षेत्रमा आफ्नो अलग पहिचान बनाइसकेका अरुण र सिम्रन दुवै दर्शकमाझ लोकप्रिय कलाकार हुन्। ‘महापुरुष’ लगायतका चलचित्रबाट अरुणले आफ्नो अभिनय क्षमताको छाप छोडिसकेका छन् भने सिम्रनले ‘प्रेमगन्ज’, ‘चित्रा’ र ‘बेहुली फ्रम मेघौली’ जस्ता चलचित्रमार्फत आफूलाई सक्षम अभिनेत्रीका रूपमा स्थापित गरिसकेकी छन्।

हालै चलचित्रको भावनात्मक गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरिएको थियो। थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको उक्त गीतमा संगीत पनि थानेश्वरकै रहेको छ भने गीतका शब्द डा. भोला रिजालले सिर्जना गरेका हुन्। सार्वजनिक भएयता गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।

यसअघि सार्वजनिक गरिएको चलचित्रको टिजरले पनि दर्शकको ध्यान आकर्षित गरेको थियो। टिजरमा देखाइएको कथावस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयको प्रशंसा भइरहेको छ।

निर्देशक डा. कपिल रिजाल भन्छन्, “गीत र टिजरप्रति दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको छ। चलचित्रको विषयवस्तु, कलाकारहरूको अभिनय र शारीरिक समस्याले व्यक्तिको जीवनमा पार्ने प्रभावलाई दर्शकले सकारात्मक रूपमा ग्रहण गर्नुभएको छ।”

अरुण र सिम्रनको यो पहिलो अनस्क्रिन सहकार्य भएकाले उनीहरूको केमेस्ट्रीलाई दर्शकले कस्तो प्रतिक्रिया दिनेछन् भन्ने विषय पनि चासोको केन्द्र बनेको छ।

निर्माण पक्षका अनुसार ‘गौँथली’ले घर, परिवार, सम्बन्ध र आत्मीयताको प्रतीकात्मक कथा प्रस्तुत गर्छ। डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।

चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा सरला रिजाल कार्यकारी निर्माता रहेकी छन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा रहेका छन्।

चलचित्रमा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, एलिस कार्कीको पाश्र्व संगीत, हरि हुमागाईंको छायांकन तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको चलचित्रमा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशक छन्। मुकेश शाहले ध्वनि मिश्रण, राजेन्द्र मोक्तानले रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीले नृत्य निर्देशन गरेका छन्।

चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन् भने डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.