ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान

किरण राईको लेखन तथा निर्देशनमा निर्माण भएको उक्त चलचित्रले गत महिना सम्पन्न नेपाल ग्रामीण चलचित्र महोत्सव(NERUFF) मा समेत पुरस्कार जित्न सफल भएको थियो।


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय चलचित्र पुरस्कार २०८३ अन्तर्गत विभिन्न विधाका पुरस्कार तथा सम्मान प्रदान गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा चलचित्रकर्मी, कलाकार तथा सञ्चारकर्मीहरूलाई पुरस्कार र सम्मान प्रदान गरिएको हो।

यस वर्षको विशेष चलचित्र पुरस्कार चलचित्र ‘नाक्छोङ’ का लागि निर्माता ज्योति राज राईलाई प्रदान गरिएको छ। किरण राईको लेखन तथा निर्देशनमा निर्माण भएको उक्त चलचित्रले गत महिना सम्पन्न नेपाल ग्रामीण चलचित्र महोत्सव(NERUFF) मा समेत पुरस्कार जित्न सफल भएको थियो।

‘नाक्छोङ’ कुनै काल्पनिक पात्र नभई पुस्तौँदेखिका विश्वास, विधि, संस्कार र सामूहिक चेतनाको सजीव प्रतिनिधि हो, जसलाई चलचित्रले गहिरो संवेदनशीलतासाथ प्रस्तुत गरेको छ। चलचित्रमा प्रस्तुत कुलपूजा, विवाह र मृत्यु संस्कार, चाडपर्व, धार्मिक विश्वास र जीवन दर्शनले राई समुदायको आत्मा बोल्छ। चलचित्रमा भुवन सिंह राई, यासेली योङहाङ, सागर केरुङ, हेम दिलुङ्छा राई,शुष्मा सुब्बा गुरुङ, पूर्ण लिम्बू, सारा राई, ताया हाङ राई, दिनेश कोइराला, उदय सुब्बा कुरुङ्वाङ, अनुशा राई, सरोज राई, जेशन राई ,तुलशा लिम्बु लगायत कलाकारहरूको अभिनय रहेको छ।

बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा राजन मुकारुङ र विष्णु किरातीका शब्द तथा दिनेशकाजी वान्तवा र अनिल कोई राईको संगीत रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.