
काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फेरि एकपटक ठूलो पर्दामा एकसाथ देखिने भएका छन् । पछिल्लो समय सुपरहिट चलचित्र “जारी” मार्फत दर्शकको मन जित्न सफल यो चर्चित जोडी अब नयाँ चलचित्र “रातो घेरा (द रेड सर्कल)” मा पुनः पर्दामा देखिन लागेका हुन् ।
विश्राम फिल्मस्को निर्माणमा बन्न लागेको यो चलचित्रलाई निर्देशक अनिल बुढा मगरले निर्देशन गर्ने भएका छन् । निर्माण टिमका अनुसार चलचित्रको कथा सामाजिक र भावनात्मक पक्षमा आधारित हुने बताइएको छ, जसले दर्शकलाई मनोरञ्जनसँगै गहिरो सन्देश पनि दिने अपेक्षा गरिएको छ ।
दयाहाङ र मिरुनाको यो जोडी पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा बढी रुचाइएका र सर्वाधिक चर्चित अन–स्क्रिन जोडीमध्ये एकका रूपमा स्थापित भइसकेको छ । फिल्म रातो घेरालाई जीवन गुरुङ, कविता गुरुङ,भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचनले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन्।

