विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सम्पन्न, भदौ २६ मा प्रदर्शन हुने


काठमाडौं । निर्देशक विनयराज पौडेलको निर्देशनमा निर्माणाधीन नेपाली चलचित्र ‘अक्षरा’ को छायांकन सफलतापूर्वक सम्पन्न भएको छ। निर्माण टोलीका अनुसार पूर्वनिर्धारित कार्यतालिकाअनुसार ३७ दिनमै चलचित्रको सम्पूर्ण सुटिङ सकिएको हो।

निर्देशक पौडेलले कलाकार तथा प्राविधिक टोलीको समर्पण, मेहनत र उत्कृष्ट सहकार्यका कारण निर्धारित समयभित्रै छायांकन सम्पन्न गर्न सफल भएको बताउँदै सम्पूर्ण टिमप्रति आभार व्यक्त गरेका छन्।

छायांकनको अन्तिम चरणमा निर्माण पक्षले तीज पर्वलाई लक्षित गर्दै तयार गरिएको ‘नाँचौं न बरि लै’ बोलको गीतको दृश्यांकन गरेको थियो। उक्त गीतमा सुरेन्द्र रानाको शब्द, कर्णराज गिरीको संगीत तथा चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको छ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रमा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ। साथै बालकलाकार रोनक खड्का र प्रीसा ढुङ्गानाले पनि चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

चलचित्रका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन्। चलचित्रको कथा निर्माता उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनयराज पौडेलले संयुक्त रूपमा तयार गरेका छन्।

प्राविधिक पक्षमा दीपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व निर्देशन, मदन न्यौपानेको श्रृङ्गार, प्रार्थना भट्टराईको भेषभूषा तथा सुमन काफ्लेको निर्माण व्यवस्थापन रहेको छ। मुख्य सहायक निर्देशक दिवस विक्रम बोहोरा रहेका छन् भने मनोज बोहोरा र सौरभ शाह सहायक निर्देशकका रूपमा आबद्ध छन्।

लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सहायक निर्देशकका रूपमा सक्रिय रहेका विनयराज पौडेलले ‘अक्षरा’ मार्फत स्वतन्त्र निर्देशकका रूपमा आफ्नो औपचारिक डेब्यु गर्न लागेका हुन्। राकेश दाहालले पोस्टर डिजाइन गरेको चलचित्र आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ। चलचित्रको वितरण अधिकार नेशनल सिने ग्रुप नेपाल मार्फत दीपक दंगालले लिएका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.