जितु नेपालको चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक


काठमाडौँ। अभिनेता जितु नेपालको निर्माणमा बनेको चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। राजधानी काठमाडौँमा आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको थियो।

सार्वजनिक ट्रेलरले गाउँबाट सपना बोकेर शहर आएका एक युवाले कलाकार बन्नका लागि भोग्नुपरेका संघर्ष, चुनौती र यात्रालाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ। ट्रेलरमा अभिनेता जितु नेपालको फरक अवतार देख्न सकिन्छ, जहाँ उनले कलाकार बन्ने सपना पछ्याइरहेका युवाको भूमिका निभाएका छन्।

भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको कथा तथा निर्देशनमा बनेको यस चलचित्रमा जितु नेपालको अपोजिटमा अभिनेत्री वर्षा राउत देखिएकी छन्। यसअघि सार्वजनिक गरिएको टिजरले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाएको निर्माण टिमले जनाएको छ।

चलचित्रमा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल,पवन खतिवडा’बाबा’,निरज नेपाल,अन्सु महर्जन लगायत कलाकारहरूको अभिनय रहेको छ। कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिंखडा तथा दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दको छायांकन रहेको फिल्मको पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जानकारी दिएको छ।

‘आइ एम जीत बहादुर’ को वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ। तीन दशकभन्दा लामो कलाकारिता यात्रामा हास्यदेखि चरित्र अभिनयसम्म फरक पहिचान बनाएका जितु नेपालका लागि यो चलचित्र विशेष रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.