
काठमाडौं। पारस बम ठकुरी र दिव्या रायमाझी तथा शुशान्त कार्कीको प्रमुख अभिनय रहेको चलचित्र ‘बेहुली’ को छायाङ्कन ४५ दिनको अवधिमा सफलतापूर्वक सम्पन्न भएको छ। तथापि, दुईवटा गीतको छायाङ्कन भने अझै बाँकी रहेकाले ती थाती राखिएका छन्।
‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को प्रस्तुतिमा निर्माण भएको यो चलचित्र आगामी जनै पूर्णिमाको शुभ अवसर पार्दै भदौ १२ गते दर्शकमाझ आउँदैछ। रिलिजको नजिकै रहेको हरितालिका तीजको भावना र बेहुलीको कथाबीचको यो तालमेल दर्शकलाई विशेष अनुभव दिने निर्माण पक्षको अपेक्षा छ।
चलचित्रमा कुलब्वाय र दिव्याको जोडीलाई लिएर दर्शकमा पहिलेदेखि नै चर्चो छ। ‘होस्टेल ३’ बाट चलचित्र यात्रा शुरू गरेका कुलब्वाय यसपटक एउटा परिपक्व प्रेमकथामा दिव्यासँग स्क्रिन शेयर गर्दैछन्। दुवैको स्क्रिन केमेस्ट्री कस्तो रहला भन्ने कुराले दर्शकमाझ उत्सुकता जगाएको छ।
चर्चित सङ्गीतकार अर्जुन पोखरेल पहिलो पटक निर्माताको भूमिकामा होमिएका यस चलचित्रको निर्देशन सशान कँडेलले गरेका छन् भने कथा माधव शर्माले लेखेका हुन्। सुपरहिट ‘होस्टेल ३’ मा पनि यही निर्देशक–लेखक जोडीले काम गरेका थिए।
यस पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, बिशाल पहारी, कर्मा लामा, दिपक गौली , बिमल यादब, अबिरल श्रेस्ठ, सबिन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारहरू पनि चलचित्रमा छन्। कार्यकारी निर्माता सुमन थिङ तामाङ र सह-निर्माताहरू दुर्गा खरेल र रमेश सिलवाल रहेको ‘बेहुली’मा शङ्कर कोइराला क्रिएटिभ प्रोड्युसरको रूपमा छन्। नरेन्द्र मैनालीको छायाङ्कन रहेको चलचित्रलाई विकास दाहालले सम्पादन गर्नेछन् भने द्वन्द्व निर्देशनको रोशन श्रेष्ठको छ।
यस्तै, चलचित्रको मुख्य सहायक निर्देशकमा सुदीप कुँवर, सहायक निर्देशकमा योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना रहेका छन् भने प्रोडक्सन हेडको जिम्मेवारी यम प्रसाद ओलीले सम्हालेका छन्। चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।


