
काठमाडौं । चलचित्र विकास बोर्डले जातीय तथा मातृभाषी चलचित्र क्षेत्रको संस्थागत विकासलाई प्राथमिकतामा राख्दै भुजेल चलचित्रकर्मी संघसँगको सहकार्यमा पाँच दिने अभिनय कला तालिम सुरु गरेको छ ।
भुजेल चलचित्रकर्मी संघको आयोजना चलचित्र विकास बोर्डको सहकार्यमा सुरु भएको तालिमको उद्घाटन कार्यक्रम बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । पछिल्लो समय चलचित्र विकास बोर्डले मूलधारसँगै जातीय, भाषिक र सांस्कृतिक पहिचान बोकेका चलचित्र क्षेत्रको क्षमता अभिवृद्धिमा जोड दिँदै आएको छ । यही प्रयासको निरन्तरतास्वरूप भुजेल समुदायका कलाकार तथा चलचित्रकर्मीलाई लक्षित गरी अभिनय कला तालिम आयोजना गरिएको हो ।
कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका कार्यवाहक अध्यक्ष भुइसल लामा, भुजेल समाज सेवा केन्द्रीय समितिका उपाध्यक्ष रामगोपाल भुजेल, महासचिव हिलारी बन्धु भुजेललगायत विभिन्न जातीय चलचित्र संघका प्रतिनिधिहरू अतिथिका रूपमा सहभागी थिए ।
पाँच दिनसम्म सञ्चालन हुने तालिममा प्रशिक्षक आरुस जंग मगर र चन्द्र बहादुर भुजेलले अभिनय कला, संवाद अभिव्यक्ति, पात्र निर्माण, क्यामेरा अगाडिको प्रस्तुति तथा कलाकारको व्यावसायिक अनुशासनबारे प्रशिक्षण दिनेछन् ।
भुजेल चलचित्रकर्मी संघका अध्यक्ष श्री अमृत सिं भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले जातीय चलचित्र केवल मनोरञ्जनको माध्यम नभई भाषा, संस्कृति, इतिहास र समुदायको पहिचान संरक्षण गर्ने प्रभावकारी साधन भएको धारणा राखे । उनीहरूले चलचित्र विकास बोर्डले यस्ता तालिम तथा सहकार्यलाई निरन्तरता दिएमा मातृभाषी तथा जातीय चलचित्र क्षेत्र थप सशक्त बन्ने विश्वास व्यक्त गरे ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्रको दायरा फराकिलो बनाउन सबै भाषा, संस्कृति र समुदायका चलचित्रकर्मीलाई अवसर, प्रशिक्षण र संस्थागत सहयोग आवश्यक रहेको बताए । उनले बोर्डले क्षमता विकास, सीप अभिवृद्धि र समावेशी चलचित्र वातावरण निर्माणका कार्यक्रमलाई महत्वका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
आयोजकका अनुसार तालिमले भुजेल समुदायका नयाँ तथा सक्रिय कलाकारहरूलाई अभिनय क्षेत्रमा आत्मविश्वास र सीप विकास गर्न सहयोग पुर्याउनेछ । साथै, भुजेल भाषा, संस्कृति र पहिचानलाई चलचित्रमार्फत प्रवर्द्धन गर्ने अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ ।


