
काठमाडौं। अन्तर्राष्ट्रिय स्तरमै लोकप्रिय नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’को नेपाली संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ औपचारिक रूपमा घोषणा गरिएको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको दोस्रो संस्करण सार्वजनिक गर्दै निर्णायक मण्डल, पुरस्कार राशि र अडिसन तालिका समेत सार्वजनिक गरिएको हो। सन् २००८ मा दक्षिणी क्यालिफोर्नियाबाट सुरु भएको यो प्रतिष्ठित प्लेटफर्म हाल ५० भन्दा बढी देशमा विस्तार भइसकेको छ, जसले नेपाली प्रतिभालाई विश्व मञ्चसँग जोड्ने लक्ष्य लिएको छ।
कार्यक्रममा प्रतियोगिताको ट्रेलर प्रदर्शनसँगै निर्णायकहरूको परिचय गराइएको थियो। यस संस्करणको मुख्य आकर्षणका रूपमा बलिउडका चर्चित कोरियोग्राफर टेरेन्स लुइस ‘सेलिब्रेटी ग्रान्ड जज’का रूपमा रहने घोषणा गरिएको छ। ‘डान्स इन्डिया डान्स’ र ‘इन्डियाज बेस्ट डान्सर’ जस्ता चर्चित शोमार्फत स्थापित लुइसको उपस्थितिलाई आयोजकले नेपाली डान्सरहरूका लागि ठूलो प्रेरणाको रूपमा लिएको छ।
ग्रान्ड जज टेरेन्ससँगै निर्णायक मण्डलमा ‘वाइल्ड रिपर्ज क्रु’का सदस्य किरण थापा र कार्यक्रमका कलात्मक निर्देशक जेडी तमु रहनेछन्। नेपाली नृत्य क्षेत्रमा सक्रिय किरण थापा र अन्तर्राष्ट्रिय प्रशिक्षण प्राप्त जेडी तमुले प्रतियोगितालाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रमका राष्ट्रिय निर्देशक रोशन गहतराजले नेपालमै अन्तर्राष्ट्रिय स्तरको नृत्य मञ्च निर्माण गर्ने उद्देश्यले यो प्रतियोगिता ल्याइएको बताए। कलात्मक निर्देशक जेडी तमुले भने नेपाली कलाकारहरूले विदेशमा देखाएको क्षमता र पहिचानबाट प्रभावित भई यो फ्रेन्चाइज नेपाल ल्याउने अवसर प्राप्त भएको उल्लेख गरे। उनका अनुसार प्रतियोगितामा नेपाली मौलिकता र संस्कृति विशेष प्राथमिकतामा रहनेछ, साथै विदेशी प्रतिभालाई समेत सहभागिताको अवसर दिइनेछ।
अमेरिकी दूतावासले पनि कार्यक्रममा सहकार्य गर्दै सांस्कृतिक आदानप्रदानमा जोड दिएको छ। दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले ‘वर्ल्ड अफ डान्स’को सुरुवात अमेरिकाको लस एन्जलसबाट भएको स्मरण गर्दै यस्तो प्लेटफर्ममा सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे। उनले यसलाई नेपाली कलाकारलाई विश्वसामु प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे।
पत्रकार सम्मेलनमा कलाकारहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। अभिनेता दयाहाङ राईले नृत्यलाई अभिव्यक्तिको सशक्त माध्यमका रूपमा व्याख्या गर्दै नयाँ प्रतिभालाई आफ्नो मौलिकता जोगाउँदै अघि बढ्न सुझाव दिए। बुद्धि तामाङले नृत्य र नाटक दुवैले संस्कृति बोक्ने धारणा राखे। ‘फेस अफ वर्ल्ड अफ डान्स नेपाल’ कविता नेपालीले प्रतियोगितालाई लुकेका प्रतिभाका लागि सुनौलो अवसरको रूपमा चित्रण गरिन् भने नायिका परीक्षा लिम्बुले नृत्य केवल मनोरञ्जन नभई सन्देश बोकेको कला भएको बताइन्।
प्रतियोगिताका विजेताहरूलाई प्रदान गरिने ट्रफीसमेत सार्वजनिक गरिएको छ, जसमा २४ क्यारेट गोल्ड प्लेटिङ गरिएको जानकारी दिइएको छ। प्रतियोगिता चार विधामा सञ्चालन हुनेछ,अपर डिभिजन, जुनियर डिभिजन, अपर टिम डिभिजन र जुनियर टिम डिभिजन। प्रत्येक विधाका विजेताले १ लाख रुपैयाँ नगद, गोल्ड प्लेटेड ट्रफी तथा विभिन्न उपहार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट पहिरन, विषयवस्तु र दर्शकको रोजाइमा पनि विशेष पुरस्कार प्रदान गरिनेछ।
नेपालभरबाट प्रतिभा छनोट गर्न पाँच सहरमा अडिसन गरिनेछ। तालिका अनुसार वैशाख १९ गते नेपालगन्ज, वैशाख २२ गते बुटवल, वैशाख २६ गते पोखरा, वैशाख ३० गते काठमाडौं र जेठ २ गते इटहरीमा अडिसन आयोजना हुनेछ। छनोट भएका प्रतियोगीबीच जेठ २१ गते सेमिफाइनल र जेठ २३ गते ग्रान्ड फिनाले सम्पन्न हुने आयोजकले जनाएको छ।


