‘परालको आगो’ले दर्शकमाझ गहिरो छाप छोड्ने विश्वासमा प्रकाश सपुत


काठमाडौँ। नेपाली सांगीतिक तथा अभिनय क्षेत्रमा स्थापित नाम बनिसकेका प्रकाश सपुत यतिबेला आफ्नो नयाँ फिल्म ‘परालको आगो’लाई लिएर निकै आशावादी देखिएका छन्। गायनमा जस्तै अभिनयमा पनि आफूलाई प्रमाणित गर्दै आएका उनले यस फिल्ममार्फत दर्शकमाझ अझ बलियो छाप छोड्ने विश्वास व्यक्त गरेका छन्।

यसअघि ‘परदेशी २’, ‘पुर्ण बहादुरको सारङ्गी’ र ‘माइतीघर’जस्ता फिल्ममा देखिएका प्रकाशले आफूले खोजेजस्तो सशक्त पात्र नपाउँदा केही निराशा भोगेको बताउँछन्। तर ‘परालको आगो’मा उनले निभाएको ‘चामे’ पात्र भने आफ्नो अभिनय यात्राकै महत्वपूर्ण उपलब्धि हुने उनको दाबी छ।

फिल्मको ट्रेलरमै उनको अभिनय दमदार देखिन्छ। फरक कथावस्तुमा आधारित यस फिल्ममा उनले श्रीमतीप्रतिको माया र रिसको द्वन्द्वलाई रोचक ढंगले प्रस्तुत गरेका छन्। श्रीमती माइत गएपछि भैँसीमाथि रिस पोख्ने दृश्यबारे उनले सुटिङ अनुभव सम्झँदै भने, “भैँसी कुट्नुपर्ने दृश्य थियो, तर म सहज हुन सकिरहेको थिइनँ। सिन पनि प्रभावकारी बनोस् र जनावरलाई पनि कुनै असर नपरोस् भन्ने सोचले अलि अन्योलमा थिएँ।”

उनका अनुसार उक्त दृश्यलाई कसरी स्वाभाविक बनाउने भन्नेबारे सहकलाकार सुहाना थापाले सहयोग गरेकी थिइन्। “त्यो सिनलाई सुरक्षित र यथार्थपरक बनाउन सुहानाले मलाई धेरै सहयोग गर्नुभयो,” उनले भने।

प्रकाशका अनुसार ‘परालको आगो’ भन्नेबित्तिकै श्रीमान–श्रीमतीबीचको सम्बन्ध र द्वन्द्वको कथा झल्किन्छ, जसलाई फिल्मले अझ गहिरो ढंगले उठान गरेको छ।
आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा प्रकाशसँगै सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मञ्जिला बानियाँको अभिनय रहेको छ।

हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी छ भने पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन्। लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ।
फिल्मको पाश्र्व संगीत किरण तुलाधरले तयार पारेका छन् भने संगीत शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतले दिएका छन्। गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले रचना गरेका हुन्।

नेपालभर प्रदर्शनको जिम्मा आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआरले सुरक्षित गरेको छ। गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा समावेश ‘परालको आगो’ कथामा आधारित यस फिल्मलाई साहित्यिक र भावनात्मक दृष्टिले पनि महत्वपूर्ण कृतिको रूपमा हेरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.