‘ककाकिकी’को रिलिज मिति घोषणा, भदौ १९ देखि प्रदर्शनमा


काठमाडौं । चर्चित टेलिभिजन शो ‘कमेडी दरबार’को टिमले निर्माण गरेको नयाँ फिल्म ‘ककाकिकी’को रिलिज मिति घोषणा गरिएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्म भदौ १९ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य चार कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा तथा अभिनेता महेश त्रिपाठी फरक अवतारमा देखिएका छन् ।

पोस्टरमा देखिएको कलाकारहरूको अनौठो प्रस्तुतीले फिल्मको कथालाई रहस्यमय बनाएको छ । पोस्टरकै आधारमा फिल्म सस्पेन्स शैलीमा आधारित रहेको अनुमान गर्न सकिन्छ । यसअघि पनि निर्माण टिमले क्यारेक्टर पोस्टर सार्वजनिक गर्दा नै फिल्मप्रति दर्शकको चासो बढेको थियो ।

फिल्मलाई विक्की अगरवाल र श्रद्धा प्रसाईंले संयुक्त रूपमा निर्देशन गरेका हुन् भने अनीश बुढाथोकी सहायक निर्देशकका रूपमा रहेका छन् । फिल्ममा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल र एलिसा भोगलगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।

सुमन अगरवालको कन्सेप्ट रहेको फिल्मको लेखन विक्की अगरवाल, विकास अर्याल, सरोज भण्डारी र विश्वास तिमल्सिनाले गरेका हुन् । फिल्मको छायांकन सुदीप बरालको टिमले गरेको हो । फिल्मको टाइटल आर्ट ‘ट्राइडेन्ट कन्सेप्ट’ले तयार पारेको हो भने पोस्टर डिजाइन ‘कार्यालय’ले गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.